धरान : प्रदेश १ मा १७ जना सशस्त्र प्रहरी सहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापाको बिर्तामोडका १ महिला र १ पुरुष र इलाम नगरपालिकामा १७ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमित देखिएकाहरू मध्ये इलामका १७ जना सशस्त्र प्रहरी गणका रहेका छन् । यस अघि सोही गणका १० जनामा सङ्क्रमण देखिएको थियो । यो सँगै गणमा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ भने इलाम जिल्लामा ५७ जना सङ्क्रमित रहेका छन् ।
प्रदेश १ का विभिन्न ठाउँबाट २५ जना कोरोना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले अद्यावधिक अपडेट मार्फत जानकारी गराएको छ । घर फर्केकाहरू मध्ये झापाका ७ जना मोरङका ५ जना सुनसरीका ३ जना, सोलुखुम्बुका १ जना इलामका १ जना ओखलढुङ्गाका ५ जना रहेका छन् ।
क्वारेनटिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी बिर्तामोडको क्वारेनटाइनमा खटिएकी थिइन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेनटिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो ।
पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि भएको छ ।