इटहरी : इटहरी उपमहानगरकी उपमेयरले इटहरीको अवस्था भयावह हुँदै गएको र कन्ट्रोल बाहिरको स्थिति भएको जानकारी दिएकी छिन ।

दैनिक रूपमा बढ्दै गएको सङ्क्रमितको सङ्ख्या तथा मृत्युदरको अवस्था जानकारी गराउँदै अवस्था भयावह हुँदै गएको बताएकी हुन ।

शुक्रवार साँझ फेसबुकमा स्ट्याटस लेख्दै स्वाब सङ्कलन, शव व्यवस्थापन तथा भेन्टिलेटरको अवस्था बारे जानकारी दिँदै अवस्था नियन्त्रण बाहिर गएको बताएकी हुन । 

उनले लेखेको फेसबुक स्ट्याटस :

हाम्रो अवस्था
कार्यालय बन्द छ, प्राय: घर मै छु ! घरबाटै सकेसम्म आफ्नो तहबाट जनताको सेवा पुर्याउने प्रयत्न जारी छ । आज जनप्रतिनिधि भएपछिको धेरै नै तनावको दिन भोग्नु पर्‍यो । सायद समय हाम्रो परीक्षा लिदैछ्स !
पोजेटिभ को सङ्ख्या धेरै नै वृद्धि भयो ।

कनट्याक्ट ट्रेसिङको ग्रुपले पिसिआरको लागि तयारी गर्नु पर्ने कनट्याक्ट ट्रेसिङकै ग्रुप पोजेटिभ भएर आइसुलेनमा छ । ती सबै फोन र व्यवस्थापन । पोजेटिभ बिरामी अस्पताल लान एम्बुलेन्स पाएन, जन गुनासो । सिरियस बिरामी अस्पताल लाने बेड पाएन कुरा गरिदिन पर्‍यो,  अस्पताल टिमको फोन उठ्दैन,  ठुला डाक्टरको फोन उठ्दैन, बेडमा राखेको बिरामीलाई गारो भो भेन्टिलेटर चाहियो,  भेन्टिलेटर प्याक छ केही बिग्रेका छन् भन्ने जवाफ पाइयो ।

एकै दिन ४ जना को मृत्यु । सब व्यवस्थापन समयमा गर्न सकिएन । सेनाको एउटा टोलिले जिल्लाभरी भ्याउनु पर्ने रहेछ । यही बिषयमा दिन भर तनाव ।  अहिले भर्खरै लास्टको कोसी हस्पिटलबाट शव  ब्यबस्थापनका लागी शव लिएर आउँदै गरेको एम्बुलेन्स दुहबीमा दुर्घटना ।

हाम्रो अवस्था यस्तो छ । कुरा काट्नेलाई मेरो भन्नू केही छैन । आम नगरबासीहरु हामी कन्ट्रोल बाहिरको स्थितिमा छौ । अवस्था भयावह हुदैछ ।

बजार तिर हेर्‍यो केही भएको छैन जस्तो गरी भिड्भाडले बजार पसल फुटपाथ  जमेका छन् । इटहरीका सबै हटिया भिडभाडका साथ लागेका छन् ।

व्यापार गर्नु/हुनु राम्रो हो, तर स्वास्थ्य सुरक्षा बिल्कुल अपनाइएको छैन। नागरिकले पनि आफ्नो सुरक्षामा ध्यान दिएको छैन । इटहरी एकदमै खतरा तिर गयो । अरूलाई दोष दिएर मात्र नपुग्ला नागरिकको दायित्व पूरा गर्नुपर्छ हामी सबैले । आ-आफ्नो दायित्व  पूरा नगरेको रहन्छौ ? को रहन्नौ ? हामी इतिहासको सबै भन्दा कठिन घडीमा छौ । सम्पूर्ण नगरबासीहरु लाई विनम्रता पूर्वक आग्रह  गर्दछु । 

भिडभाडमा जरुरी काम बिना नजाऔँ। 
अनिवार्य मास्क लगाऊ । 
सकेसम्म घर मै बसौँ। 
आफू र अरूको सुरक्षा मा ध्यान दिऊ।