धरान : मोरङ जिल्लाको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २ लाख ५० हजार भन्दा बढी नगद सहित ६ जनालाई पक्राउ गरेको छ ।
बेलबारी नगरपालिकाको वडा नं ४ स्थित गर्जुराम टोलमा रहेको अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कौडा, तास, मोबाइल ,नगद र सवारीसाधन सहित ६ जनालाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
खड्काका अनुसार पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका ३ मैनावारी टोल बस्ने वर्ष ४० को रित गुरुङ, लक्ष्मीमार्ग बस्ने वर्ष ५६ को सुजय गौतम,वर्ष ५२ को चन्द्र लिम्बु, झापा दमक नगरपालिका-५ मन्टेश्वरी टोल बस्ने वर्ष ३२ को धमेन्द्र राई, इटहरी-१ हलगडा बस्ने वर्ष ४७ को प्रदीप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका-८ पोर्ताहा बस्ने वर्ष ५० को परशुराम भुजेल रहेका छन् ।
पक्राउ परेका ६ जनाको साथबाट प्रहरीले नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, कौडा १ सेट, तास ३ बुङ, को २ च २८१९ नम्बरको स्कारपियो, को २३ प १३८७ नम्बरको स्कुटर, र अन टेस्ट मोटरसाइकल १ थान बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
बरामद सामान सहित पक्राउ परेका ६ जना माथि थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।








































































