धरान : सुनसरीमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ रु भन्ने विषयमा शनिवार बीपीका चिकित्सक, धरान र इटहरीका जनप्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारी बिच छलफल भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छलफलमा बीपीका चिकित्सकहरूले कोरोना संक्रमणदर अत्यन्तै बढेर गएकोले यसको रोकथामका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए ।
उनीहरूले यही गतिमा कोरोना संक्रमणदर बढीरहयो भने अस्पतालमा बिरामी राख्ने ठाउँ छैन भयावह अवस्था आउँछ । त्यसैले दशैको मुखमा झन् बढी मानिसको चहलपहल हुने र अझ धेरै सङ्क्रमण फैलिने भएकोले लकडाउन नै गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका थिए ।
धरानका उपमेयर र इटहरीका मेयर र उपमेयर दुवै सहभागी भएको सो छलफलमा धरानका उपमेयर मञ्जु भण्डारी सुबेदीले भर्खरै लकडाउन खुलेको छ लकडाउन गर्न नसकिने बताइन् ।
धरानमा भर्खरै सम्पन्न सर्वपक्षीय सर्वदलीय बैठकमा समेत लकडाउन गर्न नसकिने निर्णय भएकोले लकडाउन गर्न नहुने जनप्रतिनिधिहरुले तर्क अघि सारे ।
पछिल्लो समय कोरोना सङ्क्रमण सुनसरीको धरान र इटहरीमा धेरै बढेकोले गर्दा हप्ता दिन लकडाउन गरेर हेर्दा के हुन्छ रु भने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र पोखरेलले प्रश्न गर्दा गर्न नहुने जनप्रतिनिधिहरुले बताएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
चिकित्सकहरूले लकडाउन गर्नुपर्ने सुझाव दिँदा पनि नमानेका जनप्रतिनिधिहरूलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले पुरै नभएर आंशिक लकडाउन गरौँ पनि भनेका थिए ।
पछिल्लो समय कोरोना सङ्क्रमित बढ्नुको मुख्य कारण सर्वसाधारणको लापरबाही र कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेकाहरूले लापर्वही गर्नाले भएको बताइएको छ ।
होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानी नअपनाइदिँदा र आइसोलेसनमा बसेका सबैको घर व्यवस्थित नहुन पनि सक्छ । त्यसैले अव को केही दिनमा होम आइसोलेसनमा बसेकाहरूलाई सरकारी आइसोलेसनमा राखेर व्यवस्थापन गर्ने र कोरोना सङ्क्रमणलाई यसबाट थोरै भए पनि रोक्न सकिने छलफलमा कुरा उठेको छ ।
यो विषयमा जनप्रतिनिधिहरुले पनि होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूको अनुगमन र उनीहरूको स्वास्थ्य अवस्था बुझने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
छलफलमा धरानका उपमेयर, इटहरीका मेयर र उपमेयर, धरान र इटहरीका स्वास्थ्य शाखाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, बीपीका चिकित्सकहरू र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको थियो ।
छलफल पछि कोभिड १९ अस्पतालको बारेमा पनि जानकारी लिने काम भएको थियो । अस्पतालमा केही उपकरण बिग्रिएको अवस्थामा पाईएको थियो ।







































































