अब्राहम लिङ्कनले भन्नुभएको छ “अन्त्यमा यो गनिँदैन कि जीवन कति वर्ष बाँच्यौ ? बरु यो गनिन्छ कि तिमी कसरी बाँच्यौ ? यस्तै गर्विलो र गह्रौँ जिन्दगी बाँच्ने तीन हस्तीहरू नेपालकै पहिलो स्ट्रोङगेष्ट म्यान राजभगत प्रधानाङ्ग, साहसिक खेल प्याराग्लाईडिङ धरानका प्रवर्द्धक/ संस्थापक लेखमणि जिमी याक्खा र लाहुरेहरूको सहर भनेर चिनिने धरानका सामाजिक अभियन्ता तथा पहिचानवादी नेता लाहुरे गजेन्द्र इस्बो लिम्बुलाई छोटो समयको अन्तरालमै धरानले गुमाएको छ ।
नेपाल बडि विल्डिङ सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्स खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका राजभगत प्रधानाङ्गको मृत्यु विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण २०७७ कार्तिक १० गते सोमबार अपराह्न ४ बजे विराटनगर कोभिड अस्पतालमा भएको थियो ।
शारीरिक सुगठन खेल र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको थियो । उहाँले मिस्टर धरानको उपाधि जित्नुका साथै नेपालकै स्ट्रोङगेष्ट म्यानको उपाधि २ पल्ट जित्नुभएको थियो । उहाँ इन्टरनेशनल फेडेरेशन अफ बडिविल्डिङ एन्ड फिटनेसको सल्लाहकार र आइएफविविको अन्तर्राष्ट्रिय निर्णायक पनि हुनुहुन्थ्यो ।
राजभगत प्रधानाङ्गले नेपाल र नेपालीकै शानमानलाई कहिल्यै झुक्न/हार्न दिुनभएन । उहाँले धरानको शिरलाई चोमोलुङ्गमा जस्तै उठाउनुभयो । श्री प्रधानाङ्गले जीवनमा सधैँ जित्नुभयो तर मृत्युसँग भने हार्नुभयो । उहाँ जति बाच्नु भयो अब्राहम लिङ्कनकै भनाई जस्तै गह्रुङ्गो जिन्दगी, गह्रुङ्गो बँचाई बाँच्नुभयो । धरानको आकाशबाट एउटा नक्षत्र सधैँको लागि अस्ताएको छ । मिस्टर धरान तपाईँको आत्मको चिर शान्तिको कामना सहित अलबिदा ।
एउटा दुखको पहाड खसेर धरानेहरुको छातीमा लागेको घाउ ओभिनै नपाई धरान प्याराग्लाडिङ साहसिक खेलको पहिलो प्रवर्द्धक तथा संस्थापक लेखमणि जिमीलाई पनि धरानेहरुले सधैँको लागि गुमाउनु पर्यो । उहाँको मृत्यु २०७७ कार्तिक ११ गते निज निवास धरान १७ मा फोक्सोको क्यान्सर रोगको कारण भएको थियो ।
स्व. लेखमणि जिमी धरान र पूर्व क्षेत्रमा साहसिक खेल प्याराग्लाडिङको विकास तथा विस्तारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । उहाँ धरानका सक्रिय साहसिक खेला पर्यटनसँग सम्बद्ध संस्थाहरू रहेको एक्सट्रीम धरानका अध्यक्ष, धरान उपमहानगरपालिकाको पर्यटन समितिका सदस्य समेत थिए । जिमीले बुढासुब्बा प्याराग्लाईडिङ प्रा.लि. मार्फत धरानमा व्यावसायिक रूपमा प्याराग्लाईडिङ्ग सञ्चालनमा ल्याउनुभएको थियो ।
खेलकुदको उर्वर भूमि भनेर चिनिने धरानको खेलकुद क्षेत्रलाई विकास प्रवर्द्धन गर्न तथा सधैँ क्रियाशील बनाउन महत्त्वपूर्ण योगदान दिने एक साहसिक खेलाडी तथा खेल प्रेमी धरानेहरुले माया र सम्मान गरेको प्यारा मानिस लेखमणि जिमीको निधनले धरानलाई अपूरणीय क्षति भएको छ ।
फेरी धरानको क्षितिजमा एउटा तारा अस्ताएको छ । मृत्यु शाश्वत सत्य हो, यो कसैगरी पनि टर्दैन । लेखमणि जिमी ज्यूको आत्मको चिर शान्तिको कामना सहित अलबिदा जिमी सर ।
धरानमाथि कोरोनाको कहर यति निर्दयी भएर बज्रेको छ । यो छोटो समयकै अन्तरालमा धरानका कैयौँ प्रतिष्ठित, सामाजिक, राजनीतिक, बौद्धिक, व्यापारी तथा चिरपरिचित व्यक्तित्वहरूलाई धरानले गुमाउनु परको छ ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको हकहित र अधिकारको लागि आजीवन सङ्घर्षरत, विकाश प्रेमी भूतपूर्व ब्रिटिस आर्मी ९२११६१७३ (कलर सार्जन १० जिआर) धरान १५ निवासी गजेन्द्र इस्बोको ६३ वर्षको उमेरमै भएको असामयीक निधनले फेरी धरानेहरु स्तब्ध र शोकमग्न हुनुपरेको छ ।
स्व. गजेन्द्र इस्बो तत्कालीन समाजवादी पार्टी सुनसरीका संस्थापक अध्यक्ष वर्तमान जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष तथा समाजवादी पार्टी धरान नगर समितिका सल्लाहकार संयोजक हुनुहुन्थ्यो ।
उहाँ २०७६ साल मङ्सिरमा सम्पन्न भएको धरानका मेयर पदको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार हुनुहुन्थ्यो । नेपालमा भएको भूपू गोर्खा सैनिकहरूको आन्दोलनलाई लामो समय उहाँले नै नेतृत्व गर्दै आउनु भएको थियो ।
ब्रुनाईमा गोर्खा सैनिकहरूको अधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको मध्ये उहाँ नै प्रमुख नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँ आदिवासी जनजातिहरूको राजनीतिक आन्दोलनका अभियन्ता पहिचान पक्षधर नेता हुनुहुन्थ्यो ।
किरात याक्थुम चुम्लुङका भूपू केन्द्रीय सचिव तथा वर्तमान केन्द्रीय सल्लाहकार, चुम्लुङ भवन धरानका निर्माणकर्ता, गोरखा सहकारीका संस्थापक, गोर्खा कम्प्लेक्स निर्माणकर्ता, धरान २० विष्णु पादुकामा निर्माणाधीन ब्रिटिस गोर्खा पार्कको परिकल्पनाकार, योजनाकार तथा नेतृत्वकर्ता समेत हुनुहुन्थ्यो भने कैयौँ स्थानीय विकास निर्माण योजनाहरूका अगुवा हुनुहुन्थ्यो ।
२०७७ कार्तिक १८ गते बिहान ४ बजे न्यूरो अस्पताल विराटनगरमा कोरोना भाइरसको कारणले उहाँको असामयिक मृत्यु भएको छ । उहाँ लामो समयदेखि क्यान्सर, प्रेसर र सुगर जस्ता रोगहरूसँग लडिरहनुभएको थियो । धरानको माटोलाई सारै माया गर्ने एउटा भूमिपुत्रको अन्त्य भएको छ । स्व.गजेन्द्र इस्बो ज्यूको आत्मको चिर शान्तिको कामना सहित सलाम । अलबिदा गजेन्द्र दाइ ।
आइन्स्टाइन भनेका छन् अरूको लागि बाँचेको जीवन मूल्यवान हुन्छ । समाज र राष्ट्रका लागि मूल्यवान जिन्दगी बाँचेका धरानका तीन ताराहरू राजभगत प्रधानाङ्ग, लेखमणि याक्खा र गजेन्द्र इस्बो यहाँहरूको पार्थिव शरीर हामी माझ नभए पनि तपाईँहरू सधैँ सधैँ धरानेहरुको मन मस्तिष्क र हृदयमा बाँची रहनुहुनेछ । यहाँहरूलाई यही लेखबाट श्रद्धा सुमन ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































