धरान : प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा आउदैछन् ।

प्रधानमन्त्री ओलीको यो भ्रमणको विशेष कार्यक्रम नभए पनि सडक र जलविद्युत आयोजनाको निरीक्षण गर्ने र स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने बताइएको छ । जस अनुसार तीन वटा कार्यक्रम तय भएका छन् । प्रधानमन्त्री सिधै किमाथाङ्का पुग्नेछन् ।

प्रधानमन्त्री ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्ने सङ्खुवासभाका पत्रकार दीपेन्द्र शाक्यले बताए ।

किथामाङ्काको कार्यक्रमपछि च्याम्ताङमा निर्माणाधीन विराटनगर-किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । च्याम्ताङमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गर्दैछ । १४ किलोमिटर ट्र्याक खुलेपछि कोशी राजमार्गले चीनसँगको सिमाना छुनेछ । त्रिदेशीय महत्त्वको यो सडक निर्माणको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

च्याम्ताङको कार्यक्रम पछि प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माण स्थलको निरीक्षण गर्ने छन् । ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माण प्रगतिबारे ब्रिफिङ सुन्ने र राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्याम स्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्य तालिका रहेको छ ।

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् । त्यस क्रममा प्रदेश र प्रतिनिधिसभा सदस्यहरूसँग पनि छलफल गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौँ फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी दिएका छन् ।