विराटनगर : भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ ।
विगत ९ वर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिवार उद्धार गरेकी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा ल्याइएको छ ।
राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताइन् । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनाको काममा प्रदेश सरकार लागेको उनले बताइन् ।
सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताइन् । करिब २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरेको थियो ।
उद्धार गरिएका राई स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए ।