धरान : सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटका मजदुरले सोमबार देखि आन्दोलित भएर काम ठप्प पारेका छन् ।
ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरूले सोमबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनका कारण ड्याम साइट मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा काम पूर्णरुपमा प्रभावित भएको छ । अरुण तेस्रो सुरुङ्ग मार्ग निर्माण लगायतका ड्याम साइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्ट्रक्शनले गरिरहेको छ ।
लामो समयदेखि मजदुरहरूको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरूलाई काम नदिएको उनीहरूको आरोप छ । निर्माण कम्पनीले दैनिक ज्यालाका बारेमा चासो नदेखाए पछि असन्तुष्टि जनाउँदै कामदारले काम रोकेका हुन् ।
यसअघि पनि मजदुरहरूले ज्याला बढाउन माग गर्दै काम रोके पछि तत्कालै बढाउने सहमति भएको थियो । तर नौ महिना बितिसक्दा समेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेकोले आन्दोलन थालेको मजदुरहरूको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले ड्याम साइटमा कार्यरत मजदुरहरूले ज्याला बढाउनुपर्ने माग गरी आन्दोलन गरेको जानकारी पाएको बताए । बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।
गएको कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थलगत अनुगमन गर्दै अरुण तेस्रोको कामबाट सन्तुष्ट रहेको बताएका थिए । मकालु ५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका २ को पुखुवामा पावर हाउस रहने छ । पावर हाउस भारतीय पटेल इञ्जिनिरिङ कम्पनीले काम गरिरहेको छ ।