धरान : मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको आज एक साता पुगेको छ ।
हत्याको जिम्मा विप्लव समूहको नेकपाले लिए पनि अहिले सम्म पनि हत्याको 'क्लु' पत्ता लागेको छैन । मङ्गलवार प्रेस वक्तव्य जारी गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको छ । संयुक्त सुरक्षावेशले पटक पटक सर्च अप्रेसन चलाए पनि प्रहरीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।
पटक पटक सुराकी गरेर आफ्ना कार्यकताहरुलार्ई पक्राउ गरेको उल्लेख गर्दै विप्लव समूहले सम्झाउने क्रममा प्रतिकार गरेपछि हत्या गरेको स्वीकार गरेको हो । विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई घाँटी रेटेर बीभत्स हत्या गरेको थियो ।
चालु आर्थिक वर्ष २०७७/७८ को ५५ नं मा घटनाको कसुर दर्ता भएको बताए । पक्राउ पर्नेहरूलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारबाही गरिने मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
खड्काले कपुरी न्युजसँग भने घटनाको प्रारम्भिक अनुसन्धानमा छौ ,विज्ञप्ति पनि आधिकारिक छैन, अनुसन्धान गोप्य ढङ्गले गरिरहेका छौ,प्रत्यक्षदर्शी समेत प्रहरीको सम्पर्कमा आएका छन् ।
अनुसन्धानमा डेभलपमेन्ट हुँदैछ । तर, अनुसन्धानका सबै कुरा सार्वजनिक गर्दा अनुसन्धानमा नै खलल पुग्ने भएकाले सबै कुरा गोप्य राखेका छौ । उनले फेरी थपे हामी सक्रिय भएर लागेका छौ, रिजल्ट छिटै आउँछ ।
घटनामा संलग्नहरू भूमिगत भएकोले पक्राउ गर्न असहज भएको बताउँदै उनले भने 'मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमिते लगायत घटनास्थल एवं आसपासका क्षेत्र र छिमेकी जिल्ला लक्षित विशेष सर्च अप्रेसन चलाउँदै निगरानी बढाएका छौ ।'
प्रधान सेनापतिको निर्देशन
प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन पूर्वी पृतना हेडक्वाटरलाई निर्देशन दिएका छन् ।
शान्ति सुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई निर्देशन दिने क्रममा उनले मङ्सिर २४ गते प्रधान सेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।



































































