धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर र विस्तार गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज ८ जना मन्त्री र एक जना राज्यमन्त्री नयाँ नियुक्त गरेका छन् भने ६ जना मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन् ।
आज थपिएका मन्त्रीहरूमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, प्रभु साह सहरी विकास, गौरीशङ्कर चौधरी श्रम तथा रोजगार, गणेश ठगुन्ना सामान्य प्रशासन तथा सङ्घीय मामिला, मणि थापा खानेपानी तथा सरसफाइ, दाबा लामा युवा तथा खेलकुद, प्रेम आले वन तथा वातावरण, जुली महतो महिला तथा ज्येष्ठ नागरिक रहेका छन् । यसै गरी विमला विश्वकर्मा उद्योग राज्यमन्त्रीमा नियुक्त भएकी छिन् ।
यस्तै मन्त्रालय हेरफेर भएका मन्त्रीहरूमा हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसङ्ख्या, कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि, भानुभक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, पदमा अर्याल कृषि तथा पशुपंक्षी, डा। शिवमाया तुम्बाहाङफे भूमि सुधार,लीलानाथ श्रेष्ठ न्याय कानुन तथा संसदीय मामिला मन्त्री रहेका छन् ।
मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।
संसद् विघटन र मध्यावधि निर्वाचन घोषणासँगै प्रचण्ड–माधव नेपाल समूहबाट ओली सरकारमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेका पदमा ओलीले प्रचण्ड निकट नेताहरूलाई मन्त्री बनाएका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई शुक्रवार साँझै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ ।


































































