धरान : सेछ ट्राभलिङले यसबर्षको 'सेछ पर्यटन पत्रकारिता पुरस्कार'को रकम मस्तिष्क पक्षाघात भएका सञ्चारकर्मी दिलीप रिनोहङलाई सहयोग गर्ने भएको छ ।

धरानमा सेछ ट्राभलिङ स्थापना भएदेखि हरेक वर्ष पर्यटनको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरूलाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

यो वर्ष सेछ पर्यटन पत्रकारिता पुरस्कारको राशि नगद १० हजार रुपैयाँ धरानमा रहेर संचारकर्म गर्दै आएका दिलीप रिनोहङलाई सहयोग गर्ने सेछ ट्राभलिङका प्रबन्ध निर्देशक एलिना मगरद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रिनोहाङ करिब १ महिना देखि मस्तिष्क पक्षघात भएर नोबेल मेडिकल कलेजको न्युरो वार्डमा उपचाररत रहेका छन् । उनलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यसबर्षको पर्यटन पत्रकारिता पुरस्कारको नगद राशि उनको परिवारलाई अस्पतालमै पुगेर हस्तान्तरण गरिने बताइएको छ ।

सेछ ट्राभलिङले होटल सेछ र होटल सेछ इनको सञ्चालनपछि नेपालमै पहिलो पटक साहसिक गतिविधि सञ्चालित हुने गरी सेछ एडभेञ्चर एन्ड होलिडेजको निर्माण सुरु गरिएको छ । धरानको २० नं. वडाको चिण्डेडाडामा करिब ३ बिघा क्षेत्रफलमा एडभेञ्चर पार्कको निर्माण सुरु गरिएको जानकारी पनि विज्ञप्तिमा गराइएको छ ।

यस्ता गतिविधीसंगसंगै सेछले पर्यटन विषयमा कलम चलाउने युवा संचारककर्मीहरूलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष एक जना सञ्चारकर्मीलाई सेछ पर्यटन पुरस्कार प्रदान पनि गर्ने गरेको छ । २०७१ सालदेखि प्रदान गर्दै आएको पुरस्कारहरूबाट हालसम्म छ जना सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

यस वर्ष पनि पुरस्कार दिने बारे छलफल हुँदै गर्दा सो रकमलाई एउटा पीडित सञ्चारकर्मीको सहयोगमा परिणत गर्ने सेछले निश्चय गरेको विज्ञप्तिमा जनाइएको छ ।