धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको खानेपानीको आज धरान उपमहानगरपालिकाको मेयर र उपकुलपती सहितको टोलीले अनुगमन गरेको छ ।
धरान-८ को चारकोशे जङ्गलबाट नेपाल खानेपानी संस्थानको खानेपानीको डिप बोरिङबाट बीपीमा खानेपानी ल्याउँदै आएकोमा त्यसमा केही महिना अघि अनुगमन गर्दा जीर्ण र समस्याग्रस्त भएको पाइएको थियो ।
सम्झौता अनुसार जीर्ण भएको खानेपानी संस्थानको डिप बोरिङको जेनेरेटर बिग्रिएको सोचे भन्दा कम पानी उत्पादन गरेको पाइएकोले सम्झौता अनुसार मर्मत सम्भार गर्न प्रतिष्ठानलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निर्देशन दिएका थिए ।
निर्देशन दिइएको केही महिना पछि आज फेरी धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति डा.ज्ञानेन्द्र कार्की, रजिस्टर डा. मोहनचन्द्र रेग्मी, धरान खानेपानी परियोजनाका राजु पोखरेल लगायतले खानेपानीको वेलको अनुगमनमा पुगेका थिए ।
अनुगमनको क्रममा बिग्रिएका २ वटा जेनरेटर सञ्चालनमा ल्याइएको र केही मात्रमा खानेपानीमा सुधार आएको पाइएको मेयरका सहयोगी सूर्य राईले जानकारी दिए ।
जुन अवस्थामा मर्मत सम्भार हुनुपर्ने हो त्यो अवस्थामा मर्मत सम्भार अहिले पनि नगरिएको र चाडै सम्झौता अनुसार मर्मत सम्भार गर्ने प्रतिष्ठानले जनाएको धरान खानेपानी परियोजनाका प्रमुख राजु पोखरेलले बताए ।










































































