धरान : चारकोशे जङ्गलबाट खानेपानी संस्थान धरानले ल्याएको खानेपानीको पाइपलाइन धरानको तीनकुने नजिकै फुटेको छ ।

खानेपानी संस्थानले जमिन मुनिबाट निकालेको पानी पम्प प्रविधिबाट धरानको खानेपानी संस्थानको रिजर्व टङ्कीमा ल्याइएको खानेपानीको मुख्य पाइपलाइन जङ्गलमा बन्दै गरेको सडक निर्माणको क्रममा फुटेको हो ।

बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानी सिस्टमको अनुगमन गर्ने क्रममा खानेपानी संस्थान धरानको मुख्य पाइपलाइन फुटेको देखेपछि मेयर तिलक राईले सँगै रहेका खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठ र ६ लेन सडक निर्माणका योजना सम्पर्क व्यक्तिलाई तुरुन्त मर्मत सम्भार गर्न निर्देशन दिएका थिए ।

तर अहिले साँझ सम्म पनि पाइपलाइन मर्मत नगर्नुले गर्दा धरानको खानेपानीमा समस्या आउने देखिएको मेयर राईले बताए ।

आफूले निर्देशन दिँदा १,२ घण्टामा मर्मत गरी सक्ने बताएका संस्थानका प्रमुखले आज मर्मत नगर्ने र भोलि शनिवार बिदा र पर्सि आइतबार मात्रै मर्मत गर्ने बताएको आफूलाई जानकारी आएको मेयर राईले बताए ।

धरानको मुख्य खानेपानी पाइपलाइन फुटेको अवस्थामा पनि सम्बन्धित निकाय नेपाल खानेपानी संस्थान धरानले समयमै मर्मत नगरेकोले संस्थानको गम्भीर लापर्वही देखिएको छ ।

दिनानुदिन सुख्खा याम सँगै धरानमा खानेपानी समस्या देखिने भएकोले यस्तो कुरामा खानेपानी संस्थानले तुरुन्त दिन रात र बिदा नभनी मर्मत गरेर खानेपानी सुचारु गर्नुपर्नेमा खानेपानी संस्थानले बेवास्ता गर्दा खानेपानीको चरम अभाव धरानमा देखिँदै आएको छ ।

यसबारेमा बुझ्नका लागि खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठलाई पटक पटक मोबाइलमा फोन गर्दा उनले फोन उठाएनन् । खानेपानी संस्थानले तुरुन्त फुटेको पाइपलाइनको मर्मत गर्नुपर्ने मेयर तिलक राईले बताए ।

Khanepani-futeo-2