धरान : झुटो विवरण पेस गरेर नागरिकता निकाल्ने स्याङ्जाकी मञ्जु क्षेत्री जिल्ला अदालत सुनसरीमा धरौटी बुझाएर मङ्गलवार रिहा भएकी छन् ।
क्षेत्रीलाई मङ्गलवार जिल्ला अदालत सुनसरीले २ लाख ३० हजार धरौटी माग गरेको थियो । त्यही अनुसार उनले मङ्गलवार २ लाख ३० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छाडिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
झुटो विवरण पेस गरेर धरान उपमहानगरपालिकाको वडा नं. ९ को बासिन्दा भनी २०७५ साल माघ ८ गते स्याङ्जाकी मञ्जु क्षेत्रीले नागरिकता निकालेकी थिइन्। उनलाई दोहोरो नागरिकता र राहदानी मुद्दामा स्याङ्जा प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि भन्दै धरान पठाएको थियो ।
झुटो विवरणको सिफारिस दिएको भन्दै धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवाललाई सुनसरी जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले वडाध्यक्ष कटुवाल प्रहरीको फरार सुचीमा रहेका छन् । सिफारिस दिँदा वडा सचिव रहेकी वडा सचिव रन्जु भुजेल पनि सम्पर्क विहीन भएकी छिन् ।
वडाध्यक्ष, वडा सचिव, केटीको बुबा बनेका अर्घाखाँचीका गोपाल सेजुवाल हाल जापानमा रहेकाको नाममा धरान प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अनुसार अनुसन्धानका लागि उनीहरूको नाममा जिल्ला अदालतमा मुद्दा समेत दर्ता भइसकेको इलाका पहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार अब अन्य फरार सुचीमा रहेकाहरूलाई अदालतबाट म्याद पुर्जी जारी हुन्छ। त्यस पछि अनुसन्धान हुने र अनुसन्धानमा तानिएकाहरूको बारेमा के कस्तो कारबाही हुने अदालतले निर्णय गर्ने बताइएको छ ।


































































