मोरङ : नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र माथि पुन: प्रहार गरेको आरोप लगाएका छन् ।
शनिवार मोरङको बेलबारीमा अखिल नेपाल महिला सङ्घ मोरङले गरेको कार्यक्रममा बोल्दै पाण्डेले पहिला देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बायलगाढा चढेर अमेरिका पुगिँदैन भनेर ओलीले विरोध गरेको स्मरण गर्दै नेता पाण्डेले संसद् विगठन गरेर लोकतन्त्रलाई नै धरापमा पार्ने खेलमा लागेको आरोप लगाएका हुन ।
उनले धरापमा परेको लोकतन्त्रलाई जोगाउनकालागि पुन एकजुट हुन समेत सबैलाई आग्रह गरे । हिजो हत्यारा, अपराधमा संलग्न भनेर जिम्मेवारी विहीन बनाएकाहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै चोख्याएको आरोप लगाएका छन् ।
बालकृष्ण ढुङ्गेल, काली बहादुर थापा, लगायतका नेताहरू प्रति लक्षित गर्दै नेता पाण्डेले हिजो हत्यारा भनेर जिम्मेवारी विहीन बनाइएका आज आफ्नो लाइनमा आउँदा चाहिँ राम्रा भएको भन्दै चोख्याएको बताए ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको भन्दै उनले भने संसद् पुनर्स्थापना हुने दाबी समेत गरे । प्रधानमन्त्री अदालतमा पेस गरेको फाइल चोरी गरेको समेत उनले आरोप लगाए ।
ओलीको प्रवृत्तिले प्रतिक्रियावादीहरू सल्बलाउन थालेको समेत उनले बताए । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले ओलीको ओरालो यात्रा तय भइसकेकोले अबको केही समयमै त्यो यात्रा अन्त्य हुने समेत जिकिर गरे ।
पार्टीका बहुमत सदस्य आफूहरूसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरूसँगै रहने उनले दाबी गरे । तर देशभित्र र बाहिर प्रतिक्रियावादीहरूको बोलवाला रहेको र उनीहरूको षड्यन्त्रको सिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।


































































