झापा : झापाको गौरादह नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । तर, यही नगरपालिका भित्रका केही सामुदायिक विद्यालयका विद्यार्थी वर्षौँदेखि शुद्ध खानेपानीको अभाव झेल्न बाध्य छन् । सबैले सोच्ने गर्छन्, प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा त सबै थोक भरिपूर्ण होला भन्ने तर वास्तविकता भने निक्कै फरक छ ।
त्यसैको एउटा प्रतिनिधिमूलक विद्यालय हो झापाको गौरादह नगरपालिका वडा नम्बर ७ मा रहेको श्री आधारभूत विद्यालय । गरिब तथा विपन्न वर्गका विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा शुद्ध खानेपानीको अभाव छ । विद्यार्थीहरू वर्षौँदेखि ट्युबलेको आर्र्षनिक मिश्रित पानी पिउन्न बाध्य छन् ।
एक सय तेह्र जना विद्यार्थी सो विद्यालयमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कमला कार्कीले जानकारी गराइन । उक्त विद्यालयमा ५ जना शिक्षक र एक जना कर्मचारी रहेका छन् । त्यहा शिक्षक र कर्मचारी पनि सोही ट्युबलेको पानी पिउन बाध्य छन् ।
विद्यालयमा पानीको समस्याका विषयमा वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेलसँग जिज्ञासा राख्दा केही दिनमै उक्त विद्यालयको समस्या हल हुने प्रतिक्रिया दिए । वडाध्यक्ष खरेलले भने, “हामी समस्या समाधानका लागि प्रयत्नरत छौँ, केही दिनमै तपाईँले त्यसको रिजल्ट सुन्न पाउनुहुनेछ ।”
“प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भनेर के गर्नु हुने गरेका विकास निर्माणका काम जति सबै दमक केन्द्रित छन्,” नाम नबताउने सर्तमा नेकपाकै एक नेताले भने । “चुनाव आएपछि यसो एक दुई पटक आमसभामा भाषण गर्न बाहेक प्रधानमन्त्री ओलीले यो ठाउँलाई कहिल्यै हेरेनन् । उनले सुनाए ।”


































































