झापा : चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।
अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै विभिन्न बैकहरूको खाता नम्बर दिएर विभिन्न व्यक्तिहरूबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ वर्षीय पंकज पौडेली बिक पक्राउ परेका हुन् ।
पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसँगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बिकको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, उनको घर कोठामा रहेको दराज भित्रबाट २ लाख ८ हजार २ सय रुपैयाँ र पौडलीको घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ गरी जम्मा १३ लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद बरामद भएको छ ।
यसै गरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताब १ थान, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान, अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपि १ थान र सिम सहितको मोबाइल २ थान बरामद भएको छ ।
ठगीको आरोपमा पक्राउ परेका बिकलाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।