धरान : बालबालिका लक्षित कार्यक्रम अन्तर्गत धरान-१९ वडा कार्यालयले किरातेश्वर माविमा आज विद्यालय भर्ना तथा पोसाक वितरण कार्यक्रम गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ३४ जना विद्यार्थीलाई भर्ना तथा पोसाक वितरण गरिएको वडाध्यक्ष पूर्णबहादुर लिम्बुले बताए । १४ जना छात्रा र ७ जना छात्र गरी २१ जनालाई विद्यालय भर्ना तथा ९ जना छात्रा र ४ जना छात्र गरी १३ जनालाई पोसाक वितरण गरिएको छ ।
वडाध्यक्ष लिम्बुले भने,‘अभिभावक नभएको तथा आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई विद्यालय तथा वडाले संयुक्त रूपमा छनौट गरी भर्ना तथा पोसाक वितरण गरेको हो ।’
यसै आर्थिक वर्षमा स्वेटर तथा स्टेशनरी समेत वितरण गरिसकेको अध्यक्ष लिम्बुले बताए । बजेट अझै रहेकोले आर्थिक अवस्था कमजोर भएको विद्यार्थीहरूलाई पोसाक वितरणको कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिइने उनले प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वडाका सदस्य मेघनाथ राई, राजकुमार राई, जायात्रा लिम्बु, चन्द्रमाया विक तथा विद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुङ्वा समेतको उपस्थिति रहेको थियो ।


































































