धरान : धरान-१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत विद्यार्थीहरूले बिएचएमको परीक्षामा प्रदेश १ कै उत्कृठ नतिजा निकालेका छन् । उत्कृष्ट नतिजा निकालेका विद्यार्थीहरू नगद सहित सम्मानित भएका छन् ।
सम्मानित हुनेमा रितु राई, स्टेला मेन्याङ्बो र दिला नेम्वाङ रहेका छन् । कलेजमा आयोजित एक कार्यक्रमका बिच उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यार्थीहरूका अभिभावकलाई समेत खादा र अविरले सम्मान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयद्वारा २०७७ सालमा सञ्चालित बिएचएमको प्रथम सेमेस्टरको फाइनल परीक्षामा प्रदेश नम्बर १ भरिका सबै भन्दा बढी ३.६८ जिपिए रितुले प्राप्त गरेकी थिइन् । उनले सम्मान कार्यक्रममा २५ हजारको चेक प्राप्त गरेकी थिइन् ।
३.६८ जिपिए ल्याएर दोस्रो सेमेस्टरमा प्रथम बनेकी स्टेलाले २५ हजारको चेक प्राप्त गरेकी थिइन् भने दोस्रो सेमेस्टरमा ३.६२ जिपिए ल्याएर तेस्रो बनेकी दिलाले १० हजारको चेक प्राप्त गरेकी थिइन्।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले भने यसअघि पनि कलेजका विद्यार्थी होटल म्यानेजमेन्ट, म्यानेजमेन्टमा प्रदेश १ को प्रथम साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरबाट सेकेन्ड टपर समेत बन्न सफल भइसकेको बताउँदै भने 'यो नतिजा प्रदेश १ मै प्रथम हो ।'
कार्यक्रममा बोल्दै उनले सेमेस्टर वाइज प्रथम हुनेलाई २५ हजार द्वितीय हुनेलाई १५ हजारको तृतीय हुने विद्यार्थीलाई १० हजार प्रोत्साहनका लागि निरन्तर दिने घोषणा समेत गरे ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कलेज परिवार, अभिभावक, विद्यार्थीकै मिहिनेतका कारण कलेजका विद्यार्थीले पनि निरन्तर सफलता हासिल गर्दै गएको बताए ।


































































