विराटनगर : प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै छन् ।
प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाज पनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रर्दशन गर्न लागेको हो ।
विराट नर्सिङ होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभा स्थल बनाइएको आयोजक कमिटीले जनाएको छ ।
प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।
सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभामा गाउँ–गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ । विराटनगरको विभिन्न ६ स्थानबाट र्याली निस्कनेछन् ।
‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउँछन्, निजी सवारी पनि धेरै आउँछन् ।’विराटनगरको जनसभा ऐतिहासिक हुने उनको दाबी छ । भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ ।
केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो । प्रधानमन्त्री सवारी हुने भए पछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सुरक्षा सतर्कता उच्च बनाएको बताएका हुन् ।