धरान : धरानबाट एकै दिन सात जना लागुऔषध कारोबारी युवा पक्राउ पक्राउ परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार धरान-३ का विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठ, धरान-८ का यज्ञबहादुर खड्का, सोही वडाका आकाश श्रेष्ठ, धरान-१३ का ओमप्रकाश कार्की धरान-१५ सयपत्री मार्गबाट कृष्ण थापामगर पक्राउ परेका हुन ।
धरान-३ बाट विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठलाई ब्राउन सुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
लागूऔषध कारोबारको सूचनाको आधारमा प्रहरीले निजहरूलाई खोजतलास गर्ने क्रममा उनीहरूबाट ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको उनले जानकारी दिए ।
भृकुटी पथबाट विनयको कोठामा प्रहरी पुग्दा विनयले लागूऔषध खैरो हेरोइन बिक्री गर्ने प्रयोजनको लागि प्लास्टिकमा प्याकिङ गर्दै गरेको अवस्थामा ५ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछ गर्दा बरामद हुन आएको लागूऔषध उत्सव र उमेशसँग मिलेर बिक्री वितरण गर्ने प्रयोजन भएको खुलेपछि उनीहरू पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरूमाथि मङ्गलवार नै सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार नै धरान-७ तरेवा होटेल अगाडिबाट धरान-१३ बस्ने वर्ष २६ को ओमप्रकाश कार्कीलाई १ ग्राम ६०० मिलीग्राम खैरोहेरोइन सहित पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए । उनीमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।
सोमबार धरान-८ लाङ्घाली चौक बस्ने ४५ वर्षीय यज्ञबहादुर खड्काले आफ्नो घर कोठामा लुकाइराखेको लागूऔषध डाइलेक्स डिसी १०० एमएल लेखिएको २ बोतल, नाइट्रोजन ट्याब्लेट १६५ चक्की र स्पास्मो प्रोक्जोभिन ७२ क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।
धरान-८ बस्ने वर्ष २९ को आकाश श्रेष्ठबाट डाइलेक्स डिसी १०० एमएल लेखिएको २ बोतलसमेत फेला परेको प्रहरीले जनाएको छ । उनलाई पनि पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
धरान-१५ सयपत्री मार्गबाट ४० वर्षीय कृष्ण थापामगरलाई लागूऔषध १ ग्राम ८०० मिलीग्राम सहित फेला पारी पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।