झापा : मोरङको उर्लाबारी नगरपालिका-५ का प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरण घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
शङ्कास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईसहित छ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दायर भएको हो ।
मुद्दा दायर गरेका मध्ये दुई जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक खड्काका अनुसार कुमार राई र मेहरमान दर्जी पक्राउ परका हुन् । यसअघि पक्राउपछि हाजिरी जमानीमा छुटेका चार जना भने फरार भएका छन् । फरार भएकाहरूको खोजी कार्य भइरहेको उनले बताए ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले उर्लाबारी घटनाका आरोपी माथि बयान जारी रहेको बताए । उनका अनुसार न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।
उर्लाबारी नगरपालिका-५ का बास्तोलाको गत पुस ५ गते शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आन्दोलित बनेका थिए । आफन्त आन्दोलित बनेपछि मङ्गलवार मुद्दा दर्ता भएको थियो ।
प्रहरी उपरीक्षक खड्काले पोस्टमार्टम रिपोर्टले बास्तोलाको हत्या भएको देखिएकाले ६ जना विरुद्ध मुद्दा दायर गरेको जानकारी दिए । उनका अनुसार पोस्टमार्टम रिपोर्टमा भ्वाइलेन्ट एपेक्सिया देखाएकाले हत्या भएको दाबी सहित अदालतमा मुद्दा दायर गरिएको हो । यस अघि भने भिसेरा र पोस्टमार्टमको डिटेल रिपोर्ट नआएका कारण समय लागेको बताए ।
उनका अनुसार होटल सञ्चालक राईसँग प्रवीणको विवाद भएको र मध्य रातमा मोबाइलबाट ब्यालेन्स ट्रान्सफर पनि भएको थियो । प्रहरीले शङ्कास्पद मृत्यु भएको समयमा उनीसँगै रहेका उर्लाबारी-६ का ३१ वर्षीय राजेश रणपहेली सहित चार जनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरी छानबिन गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन पछि मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै माघ २ गते रणपहेली सहितलाई हाजिरी जमानीमा छाडेको थियो ।
आफन्त र स्थानीयले आन्दोलन गरे पछि मङ्गलवार मुद्दा दर्ता भएको हो । तर २५ दिन प्रहरी हिरासतमा बसेर छुटेका रणपहेली सहित चार जना फरार भएका छन् । आफन्तले न्याय माग्दै आन्दोलन गरेपछि उनीहरू फरार भएका हुन् । फरार भएका चारै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
उनले फोटो परिवर्तन भएको विषयमा छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन गरिएको बताए । मिसिलमा प्रवीण बास्तोला हो भन्ने पहिचान दिने धेरै प्रमाण रहेको बताउँदै उनले अनुसन्धानमा प्रहरीले लापरबाही नगरेको दाबी गरे । अनुसन्धान अधिकृतले लापरबाही गरेको देखिए कारबाही गरिने उनले बताए ।