धरान : सुनसरीमा फागुन २३ गते देखि दोस्रो चरणको समुदायमा सुरु हुने कोरोना विरुद्धको खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरी जिल्लाको १२ वटा पालिकाको ८२ स्थानमा खोप केन्द्र तोकी खोप अभियान सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार सुनसरीमा दोस्रो चरणको यो पहिलो चरणको खोप अभियानमा ५५ वर्ष देखि माथिका ज्येष्ठ नागरिक, १८ वर्ष पुरा भएका सार्वजनिक सवारीका चालक र सहचालक, शिक्षक, शिक्षिका, औषधी पसल ,ल्याबमा काम गर्नेहरू र यस भन्दा अघिको खोप अभियानमा छुटेकाहरू गरी १ लाख ८ हजार २८ जनालाई २३ गते देखि ५ दिनमा खोप लगाइने लक्ष लिइएको छ ।
सुनसरी जिल्लाको १२ वटा पालिकाहरू धरान उपमहानगरपालिकामा ६, इटहरी उपमहानगरपालिकामा १२, बराहक्षेत्र नगरपालिकामा १०, कोशी गाउँपालिकामा ८, बर्जू गाउँपालिकामा ६, इनरुवा नगरपालिकामा ७, गढी गाउँपालिकामा ४, रामधुनी नगरपालिकामा ४, भोक्राहा गाउँपालिकामा ४, दुहबी नगरपालिकामा ११, देवानगञ्ज गाउँपालिकामा ५ र हरीनगर गाउँपालिकामा ५ गरी जम्मा जिल्लाभर ८२ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
धरानमा कतिलाई खोप लगाईदैछ ?
धरान उपमहानगरपालिकामा फागुन २३ गते देखि सुरु हुने दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २१ हजार ६ सय ३१ जनालाई कोरोना विरुद्धको खोप लगाईदैछ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरानको ६ वटा खोप केन्द्रहरू धरान स्वास्थ्य चौकी, स्वास्थ्य चौकी पाचकन्या, स्वास्थ्य चौकी विष्णुपादुका, धरान १५ श्याम चोक, ८ नम्बर वडा कार्यालय, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रेल्वेबाट लक्षित समूहलाई खोप लगाईदैछ ।
धरानमा ७० वर्ष देखि माथिका ६ हजार १ सय ९१ जना, शिक्षक शिक्षिका ८ सय ७४ जना, औषधी पसल र ल्याबमा काम गर्नेहरू ६ सय जना, सार्वजनिक यातायातका चालक सहचालक ७ हजार २ सय जना गरी जम्मा २१ हजार ६ सय ३१ जनालाई खोप लगाइने लक्ष लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यो खोप अभियानमा सबैको सक्रिय सहभागिताको समेत अपेक्षा स्वास्थ्य महाशाखाले गरेको प्रमुख मेहेताले बताए ।






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































