धरान : झापामा दुई वटा म्यानपावर कम्पनीको शाखा कार्यालयमा सिल गरिएको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृतिसँगै बढ्दो ठगीलाई मध्यनजर गरी झापामा म्यानपावर शाखा कार्यालयहरू बन्द गरेको विभागले जनाएको छ ।
यसका साथसाथै विभागले अनुगमन सुरु गरेको शाखा अधिकृत मात्रिका सापकोटाले जानकारी दिए । उनका अनुसार ३ सय ४० दर्ता नम्बर रहेको लायन म्यानपावरको शाखा सञ्चालन गर्ने अनुमति नभएका कारण बन्द गराएको बताए ।
अवैधानिक रूपमा दमकमा सञ्चालित लायन इन्टरनेट म्यानपावर र बिर्तामोडमा सञ्चालित मेमोसा ओभरसिजलाई पनि सिल गरेको हो ।
त्यस्तै अनुगमनको क्रममा बिर्तामोडको मेमोसाले विभागबाट पूर्व स्वीकृतिबिना नै अन्तर्वार्ता लिइरहेको भेटिएपछि बन्द गराएको हो । विभागका अनुसार झापामा १३ वटा म्यानपावरका शाखा कार्यालय मात्र वैधानिक छन् ।
विभागको टोलीले झापा जिल्लाका मेनवापरहरुको अनुगमन गर्न थालेपछि अवैध रूपमा सञ्चालित म्यानपावरका सञ्चालकहरू बोर्ड लुकाएर कार्यालय बन्द गरी भागाभाग भएका छन्।
विभागका शाखा अधिकृत सापकोटाको नेतृत्वमा चार सदस्य अनुगमन टोली झापा आएको हो । टोलीले अन्य जिल्लामा पनि अनुगमन सुरु गर्ने जनाएको छ ।


































































