विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरूको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । यसका लागि बजेटको प्रबन्ध गर्ने समेत बताए ।
नेपाल जुलोजिकल सोसाइटी प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको गोष्ठीमा मन्त्री कार्कीले प्राणीशास्त्रीले अनुसन्धान गरेका प्राणी लगायतका जीवहरूको प्रतिवेदनहरू आफूमा मात्र सीमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गरे ।
उनले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरी सोही अनुसार अघि बढ्ने बताए । मन्त्री कार्कीले प्राध्यापकहरूलाई आफ्नो क्षेत्रमा अब्बल हुनका लागि अनुसन्धानमा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले प्रदेश सरकारले ‘ओपन जु’ को अवधारणा अघि सारेको बताए । ओपन जुका लागि स्थान छनौटको लागि तयारीको काम भइरहेको जानकारी दिए । मन्त्री कार्कीले भने,‘झापा, मोरङ, सुनसरी र उदयपुर मध्ये एक जिल्ला छनौट गरिने छ ।’
कार्यक्रममा डा. आशिषकुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मिनाकुमारी देवलाई मन्त्री कार्कीले सम्मानित गरे ।
प्रदेश स्तरीय गोष्ठीमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, प्रा.डा. रामबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।



































































