इटहरी : सञ्चालक समिति सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इटहरीको सेवा सहकारीको ५ दिने तालीम सम्पन्न भएको छ ।

संस्थाको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी सहकारीको मर्म र भावना अनुसार अगाडी बढाउनको लागी तालीम आयोजना गरिएको हो ।

मोरङको लेटाङ स्थित कृषि विकास बैङ्कको तालीम केन्द्रमा आयोजित कार्यक्रममा  कोमल राज अधिकारी र मुकेस दाहालले प्रशिक्षण दिएका थिए । सञ्चालक समितिका २० जना पदाधिकारीलाई सहकारी के हो, सहकारीको मर्म र भावना तथा यसको कानुनी अवस्थाको बारेमा प्रशिक्षित गराइएको थियो ।

नेफ्स्कुनको प्रबिधिक सहयोगमा सम्पन्न तालीमले आफूहरूमा थप आत्मविश्वास बढाएको सेवाका लेखा सुपरिवेक्षण समिति संयोजक निमेष घिमिरेले बताए । तालीम पछि सहरकारीको विषयमा धेरै ज्ञान पाएको र यसलाई संस्थागत सुधारमा प्रयोग गरिने उनको भनाई छ ।

सेवाका अध्यक्ष तीर्थ अधिकारी पनि तालीम पछि धेरै कुराको ज्ञान पाएको बताउँछन् । सहकारी ऐन अनुसार कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी पाइएको उनले बताए । उत्पादनशील क्षेत्रमा कसरी लगानी गर्ने र ऋण प्रवाहको विषयमा नयाँ कुरा सिकेको उनले सुनाए ।

सेवामा ८५ प्रतिशत महिला सदस्य रहेको दाबी गर्दै उनले महिला उद्यमशीलतामा सहकारीको उपयोगिताको बारेमा पनि प्रशिक्षण लिएको अधिकारीले उल्लेख गरे । गरिब र निमुखा वर्गको उत्थानमा सहरकारीको भूमिका प्रस्ट भएकोले अब रणनीति बनाएर अगाडी बढ्ने योजना रहेको उनको भनाई छ ।

इटहरी-८ गाइसारमा आफ्नै भवन रहेको सेवा सहकारीमा ६५ सय सेयर सदस्य छन् । २०५५ सालमा सुरु भएको सेवा इटहरीको पुरानो सहकारी मा पर्छ ।

लेखा समिति संयोजक घिमिरेका अनुसार सेवाले बचतमा ६ प्रतिशत व्याज उपलब्ध गराउँदै आएको छ । संस्थामा हाल ५ करोड ७३ लाखको जगेडा कोष रहेको उनको दाबी छ ।