धरान : धरान उपमहानगरका नगर प्रमुख तिलक राईले विगत लामो समयदेखि शिक्षण पेसामा आबद्ध रही अवकाश प्राप्त गर्नु भएका चन्द्र प्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

नेपाल शिक्षक सङ्घ धरानको तेस्रो नगर प्रतिनिधिसभाका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख राईले चन्द्र प्रसाद श्रेष्ठको सम्मानमा एक लाख रुपैयाँको पुरस्कार कोष खडा गर्दिने घोषणा गरेका हुन् । नगर प्रमुख राईले चन्द्र सरलाई सम्मान गर्नु पाउँदा अत्यन्तै गर्व लागेको बताए ।

‘शिक्षक सङ्घमा जति सम्माननीय व्यक्तित्व हुनुहुन्छ चन्द्र दाइ, हाम्रो पार्टीमा र पत्रकारिता क्षेत्रमा त्यति नै सम्मानित व्यक्तित्व हुनुहुन्छ गिरीराज आचार्य दाइ,’ उनले भने । नगर प्रमुख राईले गिरिराज आचार्यको सम्मानमा केही समय अगाडी मात्र १ लाख ५० हजार रुपैयाँको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको सुनाए ।

‘त्यो कोष जुन नगर प्रमुखको तलब भत्ता आउँछ, त्यो पैसा मैले पार्टीको कोषमा जम्मा गर्छु, मैले तलब भत्ता लिन्न, पैसा पार्टीको कोषमा जान्छ,’ नगर प्रमुख राईले भने–‘शिक्षक सङ्घले राखोस् पुरस्कार, १ लाख रुपैयाँ म त्यो कोषबाट लगाइदिन्छु, । चन्द्र दाइको नाममा पुरस्कार कोष खोल्नुस्, हरेक वर्ष एक जना होनहार शिक्षकलाई पुरस्कृत गर्नुस्, चन्द्र दाइको इतिहास रहन्छ, अमर पनि हुन्छ ।’

कार्यक्रममा नगर प्रमुख राईले शिक्षक सङ्घमा एकता हुन जरुरी रहेको बताउँदै अबको शिक्षक सङ्घ आत्मविश्वासका साथ अघि बढ्नु पर्नेमा जोड दिए । नगर शिक्षा योजना बनाउने सन्दर्भमा, नगरको शैक्षिक कार्यक्रम गर्ने सन्दर्भमा, नगरको गतिविधिहरूको सम्बन्धमा निरन्तर छलफल गर्न जरुरी रहेका उनको भनाई थियो ।

नगर प्रमुख राईका अनुसार स्थानीय सरकार र शिक्षकहरू बिच डे टु डे छलफल गर्न आवश्यक छ । साथै अहिले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको मेयर राईको भनाई थियो । नगर प्रमुख राईले शिक्षा जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा वक्ताहरूले सङ्घीय शिक्षा ऐन कार्यान्वयन गरी बाल शिक्षक कर्मचारी, राहत अनुदान, उच्च मावि शिक्षक, करारमा कार्यरत शिक्षकहरूको समस्या राज्यले हल गर्नुपर्ने धारण व्यक्त गरेका थिए । नेपाल शिक्षक सङ्घ धरानका अध्यक्ष आस बहादुर राईले शिक्षा जस्तो विषयलाई राज्यले गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिए ।