धरान : प्रदेश नं. १ कै पहिलो वालमैत्री वडा घोषणा भएको धरान उपमहानगरपालिकाको वडा नं १३ मा फेरि अर्को नमुना काम भएको छ ।

धरान उपमहानगरपालिकाको वडा न. १३ द्वारा निर्माण भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको बुधवार एक समारोहका बिच उद्घाटन भएको छ । १ न. प्रदेश का सभामुख माननीय प्रदीप कुमार भण्डारीले भवनको उद्घाटन गरेका हुन् ।

यो भवन २९ लाख लागतमा निर्माण गरिएको हो । प्रमुख अतिथि एवं सभामुख भण्डारीले वडाको विकासमा १३ नम्बर वडाका जनप्रतिनिधिले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । १३ नम्बर वडामा भौतिक विकास पनि क्रमशः भइरहेको र हरेक कुरामा अग्रणी भूमिका १३ नम्बर वडाले निर्वाह गरेको बताए ।

यो वडा धरानकै पहिलो बालमैत्री र आधारभूत स्वास्थ्य चैकी स्थापना गर्ने वडा भएको उल्लेख गर्दै सभामुखले आफ्नो तर्फबाट गर्न सक्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

13-no-warda

कार्यक्रममा विशेष अतिथि एवं धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुबेदीले १३ नम्बर वडाले भवनहरू सबैभन्दा अगाडि बनाएर नमुना कार्य गरेको बताइन् । वडा १३ ले ज्येष्ठ नागरिक र बालबालिकाको लागि समेत भवन निर्माण गरेर वडावासीलाई स्थानीय सरकार भएको महसुस गराएको पनि उपप्रमुख भण्डारीले बताइन् ।

कार्यक्रममा स्वास्थ्य सेवा बिस्तार र असहाय कोषको लागि वडाका विभिन्न व्यक्तिले अक्षय कोषको समेत स्थापना गरेका छन् । उक्त अक्षयकोष र स्वास्थ्य चौकीलाई सहयोग गर्ने व्यक्तिहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा हरिबहादुर कार्की, पूर्ण राई, कमलबहादुर राई, पूरण थापा, गणेश खड्का, कमलेश्वरी राई, वान हार्ट वल्ड वाईट र विजयपुर हस्पिटल प्रालीलाई सम्मान गरिएको थियो । विजयपुर हस्पिटलको प्राविधिक सहयोगमा वडामा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण पनि गरिएको वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

१३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको सो उद्घाटन समारोहमा ९ नम्बर वडाका वडा अध्यक्ष रत्न कटुवाल , १६ न. का वडा अध्यक्ष दिलबहादुर गिरी लगायतको उपस्थिति रहेको थियो कार्यक्रम रितु राईले सञ्चालन गरेकी थिइन ।

13-no-warda-1