धरान : धनकुटा नगरपालिकाको वडा नं ७ चुलीवनमा अहिले भीषण डढेलो लागिरहेको छ ।

दिउँसो देखि लागेको डढेलोले धनबहादुर पौडेलको घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने एउटा गोठ पनि जलेको छ । डढेलो चुलीवन र देउराली सामुदायिक वनमा लागिरहेको धनकुटाका संचारकर्मी विनोद घिमिरेले बताए । अहिले धनकुटामा बिजुली काटिएको छ। डढेलो लागेको स्थान हुँदै बिजुलीको तार गएकोले बिजुली काटिएको बताइएको छ ।

डढेलो बस्तीमा पस्ने उच्च जोखिम बढेकोले अहिले धरान, इटहरी लगायतका दमकल बोलाइएको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी सँगै स्थानीयवासीले डढेलो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु देसारले जानकारी दिए ।

डढेलो लागेको ठाउँमा धनकुटाको दुई वटा दमकल सँगै धरानबाट गएको दमकल पनि पुगेको बताइएको छ । डढेलो दिउसो करिब १ बजे देखि लागेको प्रहरीले जनाएको छ ।

डढेलो अझै नियन्त्रणमा आइसकेको छैन भने के कति क्षेत्रमा डढेलो लाग्यो र कति क्षति पुग्यो भन्ने बारेमा विवरण आई नसकेको प्रहरीले बताएको छ ।