धरान : झीगु समाज धरानमा १ महिने नेपाः भाषा कक्षा सुरु भएको छ ।
सोमबार एक कार्यक्रमका बिच प्रमुख आतिथ्य तथा धरान उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिका संयोजक तथा धरान १५ नंं वडा अध्यक्ष नरेश ईवारामले पानसमा दीप प्रज्वलन गरेर नेवाः भाषा कक्षाको समुद्घाटन गरेका हुन् ।
धरान जनजातिको सहर भएकाले सबै जात जातीको उत्थानमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गरेर काम गरिरहेको र यसलाई अझ बढी प्राथमिकताका साथ अघि बढाउन जनजातिहरू नै लागिपर्नु पर्ने प्रमुख अतिथि नरेश इवारामले बताए ।
झीगु समाजका अध्यक्ष सुजेन्द्रमान् स्थापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवाः देय् दवू प्रदेश १ का कोषाध्यक्ष नन्द्र हलुवाई, शाक्य कल्याण संस्थाका अध्यक्ष अमृत शाक्यले आफ्नो जातीय भाषा विकासको महत्त्वबारे बोलेका थिए ।
नेवाः देय् दवू धरान नगर समितिको आयोजना र झीगु समाजको विशेष सहयोगमा सम्पन्न हुने नेवाः भाषा कक्षाको विशेष सहयोगी, धरान उपमहानगरपालिका आदिवासी जनजाति विकास समिति रहेको छ ।
नगरपालिकाबाट प्राप्त बजेटबाट धरानमा नेवाः दवु गुढी धरान ८, झीगु समाज धरान ३, शाक्य कल्याण संस्था धरान १२ र सिद्धि नेवाः परिषद् धरान ७ गरी ४ स्थानमा एकै पटक यो कक्षा सुरु गराएको नेवाः देय दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए ।
कार्यक्रममा धरान उपमहानगरपाकिलाकाकी पालिका सदस्य विनीता वज्रचार्य लगायत खलः पुचका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


































































