विराटनगर : नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य सुरु गरेका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि काँग्रेस र माओवादी केन्द्रका नेताहरू हौसिएका हुन्। यद्यपि प्रदेश १ मा आफ्नै पार्टीको प्रस्ट बहुमत भएको सरकार ढाल्ने उनीहरूले फ्लोर क्रस गर्छन् गर्दैन यकिन छैन।
प्रदेशसभाको अधिवेशन भने आइतबार अन्त्य भएको छ। अब केही समयपछि बजेट अधिवेशन बोलाउनुपर्छ। ‘मुख्यमन्त्रीले सांसद छले, सत्तापक्ष संसद्सँग डराएर भाग्नुभयो,’ नेपाली काँग्रेस प्रमुख सचेतक केदार कार्की भन्छन्, ‘बजेट ल्याउने सदन यहीँ होला, भागेर कसरी ल्याउने ?’
नयाँ सरकार बन्ने अग्रसर हुनसक्ने सङ्केत गर्दै उनले जनताले काँग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्ने मत दिएको भए पनि आवश्यक परे अघि बढ्न तयार रहेको बताए।
माओवादी केन्द्रले पनि त्यही आसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । ‘सरकारले संसद्को मर्यादा कायम राख्न सकेन, अविश्वासको प्रस्ताव आउन सक्छ,’ नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘अहिलेलाई सरकारलाई दिएको समर्थन यथावत् नै छ।’
यसअघि साबिकको नेकपा दुई समूहमा विभाजित हुँदा पनि प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि २३ चैतमा अविश्वासको प्रस्ताव फिर्ता भयो ।
९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेका ५१ प्रदेशसभा सदस्य छन्, जुन प्रस्ट बहुमत हो। तर उनीहरू मध्ये १९ जना माधव नेपाल समूहका छन्।
अविश्वासको प्रस्ताव दर्ता भए माधव नेपाल समूहका ७-८ मत फ्लोर क्रस गर्ने काँग्रेस र माओवादीको दाबी छ । त्यो सम्भावना रहेको भन्दै नेपाल समूहका एक सांसदले भने, ‘कर्णालीमा जस्तै सहयोग यहाँ पनि रहन्छ।’
नेपाली काँग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३ र अन्य राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन्। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा माओवादी केन्द्रले एक जनालाई पदबाट हटाएको छ।


































































