धरान : बहुमूल्य धातु सुन, चाँदी लगायतका समानको प्रलोभन देखाएर भारत पुर्‍याउन खोजिएकी एक युवतीलाई मोरङ प्रहरीले ३ महिना पछि उद्धार गरेको छ ।

युवतीलाई विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डलले भारत लैजान खोजेको पुष्टि भएपछि मण्डललाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

विराटनगर महानगरपालिका-४ की २४ वर्षीय युवतीलाई मोरङ प्रहरीका अनुसार कञ्चनपुरबाट उद्धार गरेर मंगलबार साँझ विराटनगर ल्याइ पुर्‍याएको हो । युवती र मण्डल हराएको जानकारीका आधारमा प्रहरीले भारत प्रहरी सँग सहकार्य गरी उद्धार गरेको हो ।

खड्काका अनुसार अभिभावकलाई नै बहुमूल्य धातुको प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेका थिए । उनले विराटनगरकै एक ज्वेलर्स सुनचाँदी पसल बाट ५० हजार रुपैयाँमा सुन किनेर लग्दै युवतीको घर परिसरमा जमिनमुनि गाडेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

त्यसपछि उनले टुना मुना गर्ने भन्दै विभिन्न गतिविधि गरी त्यही सुन निकालेर देखाएकाले परिवारका सदस्य र आफन्त पनि विश्वासमा परेको पाइएको खड्काको भनाइ छ ।

अझै धेरै सुन, चाँदी लगायतका बहुमूल्य धातु निकाल्नलाई सात वटा खोलाको पानी बिहे नगरेको कन्या युवतीले जम्मा गरेर ल्याउँदै शुद्ध जलका रूपमा चढाउनुपर्ने बताएर थप विश्वासमा पार्दै मण्डलले युवतीलाई भारत लिएर हिँडेको पाइएको एसपी खड्काले बताए ।

विराटनगर ल्याइएकी युवती भने मानसिक रूपमा विक्षिप्त अवस्थामा छिन् । उनी कसैलाई केही पनि कुरा भन्न सक्ने अवस्थामा नरहेकाले थप ‘भएपछि’ गर्दै घटनाका बारेमा बुझ्ने र वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको एसपी खड्काले जानकारी दिए ।