धरान : सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता निषेधाज्ञा जारी गरेको छ ।

गए राती १२ बजे देखि वैशाख २४ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

Nisedhagya-2

उक्त समयावधि भित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइनेछैन । यस्तै, १० वर्षमुनि र ६० वर्ष माथिका व्यक्ति तथा दीर्घ रोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा आउजाउ गर्न निषेध गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

Nisedhagya-1

खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । सरकारी, बैक, वित्तीय, बिमा लगायत कार्यालयहरूबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यकबाहेकका अन्य सेवालाई स्थगित गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन धरानमा बिहान सबेरै देखि पानी परेकोले खासै मानिसको चहल पहल देखिएन । ट्याम्पो, सिटी सफारी, सार्वजनिक सवारी साधनहरू सञ्चालनमा रहेका छन् भने सर्वसाधारण पनि हिँडिरहेका छन् । मुख्य चौकहरुमा प्रहरीको उपस्थिति भने खासै देखिएन ।

Nisedhagya-4

धरानमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या अत्यन्तै बढ्दै गइरहेको छ । त्यसैले स्थानीय सरकारले सर्वसाधारणको भिडभाडको नियन्त्रण गरी कोरोना रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको छ । सर्वसाधारण पनि घर बाहिर ननिस्किन र घरैमा बसेर कोरोना सङ्क्रमणबाट जोगिन जरुरी भएको छ ।

Nisedhagya-1 Nisedhagya-2