झापा : झापामा बुधवारदेखि पूर्ण निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा मङ्गलवार साँझसम्म चलेको बैठकले सो निर्णय गरेको हो ।

यो निर्णयसँगै कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । डिसीसीएमसीको बैठकले बुधवार राती १२ बजेदेखि वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

पूर्ण निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने निर्णय भएको छ । खाद्यका पसलले बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् । यस्तै, होटेल व्यवसाय पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । निषेधाज्ञामा खोल्न दिइएको होटलपनि बन्द गर्ने निर्णय भएको छ ।

सवारी साधनका सन्दर्भमा जोर बिजोर प्रणाली समेत हटाइएको छ । निजी र सार्वजनिक सबै सवारी बन्द गरिने भएको छ । अत्यावश्यक र अनुमति प्राप्त सवारी मात्रै सञ्चालन गर्न पाउने बताइएको छ ।

यस्तै, ढुवानीका सवारी पनि चलाउन पाइने डिसीसीएमसीले निर्णय गरेको छ । विवाहमा २ वटा सवारी र भोजमा २५ जना मात्रै सहभागी बन्न पाइने बताइएको छ । निर्माणको कामलाई सुरक्षित बनाउन निर्माण व्यवसायीले मजदुरलाई एकै ठाउँ राख्नुपर्ने छ ।

बैठकले सैलुन, पार्लर , जिम खाना, पार्टी प्यालेसलाई पूर्ण रूपमा बन्द गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवं डिसीसीएमसीका सल्लाहकार सोमनाथ पोर्तेलका अनुसार कोरोना सङ्क्रमण भयावह भएपछि उक्त निर्णय गरिएको हो ।

आम नागरिकको आवतजावतका कारण समस्या आइरहेको उनको भनाई छ ।

jhapa-full-lockdown- jhapa-full-lockdown-2