धरान : धरानबाट श्रमजीवी पत्रकार महिलाद्वारा सम्पादित तथा प्रकाशित हुँदै आएको दिव्य रोशनी साप्ताहिकले १७ औँ वर्ष प्रवेशको अवसरमा आफ्नो वार्षिकोत्सव बालआश्रमका बालबालिाहरुसंँग मनाएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लकडाउन भएको बेला दिव्य रोशनी साप्ताहिक पत्रिकाले सामाजिक सुरक्षालाई ध्यानमा राख्दै बालआश्रममा आफ्नो १७ औँ स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङले अहिले विश्व नै कोरोना भाइरसको सङ्क्रमणले गर्दा लकडाउनको अवस्थामा रहेको बेला धरान-३ स्थित सरस्वती बाल आश्रमका बालबालिकाहरूलाई बिहानको खाना खुवाई वार्षिकोत्सव मनाएको बताइन् ।

सम्पादक चाम्लिङले सहयोगीदाताहरूबाट सञ्चालन हुँदै आएको बाल आश्रमलाई लकडाउनको बेला झनै सबैले सहयोग गर्नुपर्ने बताइन् । बाल आश्रममा २९ जना बालबालिकाहरू आश्रित रहेका छन् । उनीहरू नर्सरी देखी बिबिएस सम्म अध्ययनरत छन् ।

सम्पादक चाम्लिङले पत्रिकाले वर्ष भरी कमाएको आम्दानीको केही हिस्सा सामाजिक कार्यमा पनि लगानी गर्नु पर्दछ भन्ने मान्यता अनुरूप दिव्य रोशनीले हरेक वर्ष सामाजिक कार्यलाई संँगसंँगै अगाडी बढाएको बताइन् ।

यसै गरी आश्रमका अध्यक्ष दान बहादुर राईले लकडाउनको समयमा पनि यस पत्रिकाले सम्झेर आश्रमका बालबालिकाहरू प्रति गरेको सहयोगको प्रशंसा गरे। उनले सबैको सहयोगले नै आश्रम चलिरहेको बताउँदै आश्रमलाई सहयोगी दाताहरूको सदैव खाँचो पर्ने बताए ।

दिव्य रोशनी अनलाइन संस्करणको पहिलो वार्षिक उत्सवको अवसरमा कोरोना महामारीको अवस्थामा अग्र भागमा रही रिपोर्टिङ गर्ने धरानका सञ्चारकर्मीहरूलाई केएन ९५ मास्क समेत वितरण गरेको छ ।

दिव्य रोशनीका प्रबन्ध निर्देशक सागर सिंजालीले कोरोना महामारीका बेला जनतालाई सूचना प्रवाह गरिरहेका सञ्चारकर्मीहरूको स्वास्थ्यमा सहजताका लागि भरपर्दो केएन ९५ मास्क वितरण गरिएको बताए।

गतवर्ष दिव्य रोशनीले कोरोनाको महामारीमा धरान उप-महानगरपालिकाद्धारा स्थापित फुड बैङ्कमा ४ सय केजी चामल र १० केजी न्युटेला प्रदान गरेको थियो भने आफ्ना चार जना कर्मचारी तथा सहयोगीलाई खाद्यान्न समेत प्रदान गरेको थियो ।

विगतका वर्षहरूमा दिव्य रोशनी साप्ताहिकले पत्रिकाको स्थापना दिवस भव्य रूपमा मनाउँदै आएको थियो । पत्रिकाको वार्षिक उत्सवमा धरानलाई कार्यक्षेत्र बनाई कार्यरत सञ्चारकर्मीहरूलाई पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङका दिवङ्गत बुवा ब्रिटिस क्वीन गोर्खा इन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा २ जना पत्रकारलाई प्रदान गरिँदै आएको जनही पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ सहितको सामाजिक पत्रकारिता सम्मान र सम्पादक चाम्लिङका दिवङ्गत कान्छा दाजु स्व.बाजुन राईको स्मृतिमा प्रदान गरिँदै आएको युवा सृजनशील पत्रकारिता सम्मान ५ हजार ५ सय ५५ रुपैयाँको राशिबाट १ जनालाई सम्मान गर्दै आइरहेको छ भने हरेक वर्ष २ जना समाजसेवीलाई अभिनन्दन समेत गर्दै आएको पत्रिकाका सम्पादक चाम्लिङले बताइन् ।