आज वैशाख पूर्णिमा अर्थात् २ हजार ५सय ६५ औँ बुद्ध जयन्ती । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् मृत्यु वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।
भगवान् गौतम बुद्धको जन्म भएको आजको दिनलाई वैदिक एवम् बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीका रूपमा मनाउँछन् । ईशापूर्व ५६३ मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो ।
बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बौद्ध विहार तथा गुम्बाहरूमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रही आएको छ।
चण्डी पूर्णिमा/उँभौली पर्व
वैशाख पूर्णिमादेखि झन्डै १५ दिनसम्म वर्षात राम्रो भई अन्नपात सप्रियोस् भनी कामना गर्दै साकेला उभौली चण्डी नाचेर मनाइन्छ।
अरू समुदाय वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती मनाइरहेका बेला किरात समुदाय सुँगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली पर्व भव्य रूपमा मनाइरहेका हुन्छन्।
यस दिन किरात समुदायका राई, लिम्बु, याक्खा, सुनुवारहरू लगायत किराँतहरू साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।
चन्द्र ग्रहण
यो वि.सं. २०७८ मा लाग्ने पहिलो चन्द्र ग्रहण वृश्चिक राशि र अनुराधा नक्षत्रमा लाग्दै छ। यो चन्द्र ग्रहण दिउँसो २ बजेर ३२ मिनेटमा सुरु भएर साँझ ७ बजेर ३४ मिनेटमा मोक्ष हुन्छ ।
यस ग्रहणलाई अस्ट्रेलिया, प्रशान्त महासागर र अमेरिकाको केही क्षेत्रहरू बाट पूर्ण चन्द्र ग्रहण दृष्टि गोचर गर्न सकिन्छ । तर नेपालमा भने यस ग्रहणले प्रभाव नपार्ने भएकाले ज्योतिष शास्त्र अनुसार यसको कुनै सुतक लाग्दैन। अर्थात् आज नेपालमा चन्द्र ग्रहणको प्रभाव पर्दैन र देखिँदैन।


































































