धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले भन्टावारिबाट १ सय ६५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।
कोसी गाउँपालिका-८ राजमार्गको नजिक प्लास्टिकले बेरेर राखिएको ६ थान शङ्कास्पद बोरा चेकजाँच गर्दा १६५ केजी गाँजा फेला परेको, उक्त गाँजाका भरिया कोसी गाउँपालिका-८ बस्ने वर्षीय ४० का गणेश यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादव भरिया मात्र भएको र गाँजाको वास्तविक धनीको खोजी तथा अनुसन्धान भइरहेको सुनसरीका डिएसपी नरेन्द्र कार्कीले बताए ।
फेला परेको उक्त गाँजा एम्बुलेन्सबाट बरामद गरेको स्थानीयवासीको भनाई छ। तस्करीमा संलग्न एक जनाको पहुँचका आधारमा केही रकम बुझाएर प्रहरीले नाम सार्वजनिक नगरेको स्थानीयहरुले प्रहरीलाई आरोप पनि लगाएका छन्। गाँजा धनीलाई प्रहरीले रकम लिएर छाडिएको र प्रहरीले काम गरे जस्तो देखाउन भरियालाई मात्र पक्राउ गरेको उनीहरूको आरोप छ।
एम्बुलेन्सबाट नै गाँजा बरामद नभएको तर एम्बुलेन्स त्यस स्थानमा केही समय अगाडी आएका बताउँदै डिएसपी कार्कीले सिस क्यामरामा एम्बुलेन्स नम्बर प्रस्ट नदेखिएको र खोजी कार्य भइरहेको बताए । दुई वटा एम्बुलेन्सलाई शङ्का लागेर परीक्षण गरेको तर मेल नखाएको उनले बताए ।
डिएसपी कार्कीले एम्बुलेन्सबाट नै पक्राउ गरिएको तथा वास्तविक धनी भगाएको भन्ने आरोपमा स्थानीय तथा प्रत्यक्षदर्शीलाई प्रमाण भए सुनसरी प्रहरीलाई दिन अनुरोध गर्दै दोषी प्रहरीलाई तत्काल निलम्बन गरी कारबाही गरिने उनले बताए ।


































































