धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति विरुद्ध आन्दोलनरत संयुक्त सङ्घर्ष समितिलाई स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले सोमबार भेटेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व गर्दै डा. रोशन पोखरेल र डा. मदन कुमार उपाध्याय प्रतिष्ठानको समस्याको समन्वयकारी भूमिका निर्वाह गर्नका लागि आएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । उनीहरूले आन्दोलनकारीहरूलाई भेटेर आन्दोलनकारीको कुरा बुझेका थिए ।
सो क्रममा संयुक्त सङ्घर्ष समितिले असार १५ गतेको घटना पछि प्रतिष्ठानको चारै जना पदाधिकारीले नैतिकताको आधारमा बहिर्गमन हुनुपर्ने, प्रतिष्ठानमा अबको पदाधिकारी कसरी बन्ने भन्नेबारेमा सरकारले घोषणा गरेर यसरी पठाउँछौ भन्नुपर्ने,आउने पदाधिकारीले यो यो गर्ने भनेर प्रतिबद्धता जनाउनुपर्ने र उनीहरूको प्रतिबद्धता अनुसार काम भएको छ की छैन हरेक महिना मूल्याङ्कन गर्ने, प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका कुराहरूलाई छानबिन गरी कारबाही गर्नका लागि उच्च स्तरीय अधिकार सम्पन्न समिति गठन हुनुपर्ने र अदालत र अख्तियारलाई स्वास्थ्य र शिक्षामा भएको बेथितिलाई द्रुत गतिमा समाधान गर्न प्रधानमन्त्री स्तरबाट निर्देशन आउनुपर्ने लगायतका आफ्नो माग राखेको संयुक्त सङ्घर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताए ।
मन्त्रालयबाट आएको टोलीले पदाधिकारीलाई पनि सोमबारनै भेटेर फर्किएको बताइएको छ । प्रतिष्ठानको आन्दोलनलाई समन्वयकारी भूमिका निर्वाह गर्नका लागि मन्त्रालयले उनीहरूलाई पठाएको स्रोतले बताएको छ । आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय वार्ता टोलीसँग मात्रै वार्ता गर्ने भन्दै आइरहेको बेला स्वास्थ्य मन्त्रालयको दुई जनाको टोली प्रतिष्ठान आइपुगेको हो ।
प्रतिष्ठानको बेथितिको विरुद्धमा असार १ गते देखि प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।
असार १५ गतेको घटना पछि पदाधिकारीसँग वार्ता नगर्ने भन्दै चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन अघि बढाएको संयुक्त सङ्घर्ष समितिले स्वास्थ्य सेवालाई असर नपुग्ने गरी आन्दोलन जारी राखेको सहसंयोजक डा. पोखरेलले कपुरी न्युजलाई बताए ।


































































