धरान : धरान उपमहानगरपालिकाको नवौँ नगरसभाले आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रममा एकीकृत सहरी विकास आयोजनालाई १ करोड ५० लाख बजेट विनियोजन गरेकोमा जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धरान खानेपानी आयोजना निर्माणको अवधि सकिएको र पानी वितरणको परीक्षण कालको अवस्थामा एकीकृत सहरी विकास आयोजनाको नाममा विनियोजित बजेट धरान खानेपानी आयोजनाको डि.पि.आर. र डिजाइन भन्दा बाहिर चार कोशे जङ्गलमा खनिएको २ वटा वेलको बाँकी रहेको रकम भुक्तानी गर्न हो भन्ने हाम्रो बुझाइ रहेको छ विज्ञप्तिमा उल्लेख छ ।

उक्त २ वटा वेल खनिएको बारे त्यति बेलै जसपाले विरोध गर्दै आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको थियो । धरान उपमहानगरपालिकाको उपमेयर तत्कालीन कार्यवाहक मेयर मञ्जु भण्डारी सुबेदी भएका बखत धरानका सबै राजनैतिक दलहरू २०७६ मङ्सिर १४ गते धरान उपमहानगरपालिको मेयर पदको उपनिर्वाचनका लागि होमिएको समयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी २०७६ साल मङ्सिर ८ गते धरान खानेपानी बोर्ड बैठकमा कार्यपालिका बैठकको निर्णय बिनै तथा नगर परिषदमा छलफल एवम् पास नगरी स्वेच्छाचारी तथा अवैधानिक रूपमा २ वटा वेल खन्न टेन्डर प्रतिस्पर्धा बिना नै अमुक ठेकेदारलाई निर्माण गर्न जिम्मा दिएको हो भन्ने हाम्रो ठहर छ विज्ञप्तिमा भनिएको छ ।

जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी गलत मनसाय र तरिकाले अघि बढाइएको निर्माण कार्यका लागि बजेट विनियोजन हुनु गलत कदम हो भनी हामी घोर आपत्ति र विरोध गर्दछौँ भनिएको छ ।

नगर र नगरवासीको हितका लागि बन्ने कुनै पनि योजना, नीति तथा कार्यक्रम वैधानिक तवरबाट गरिनुपर्छ भन्ने हाम्रो बुझाइ छ । स्वेच्छाचारी तवरबाट हुने वा विगतमा गरिएका र भविष्यमा निरन्तरता पाउने योजनाहरूलाई नगर सभामा गम्भीर छलफल र बहस गरी नीतिगत तवरबाट पारदर्शी ढङ्गबाट अघि बढाइनु अनिवार्य हुन्छ ।

त्यसैले यस्तो उल्लेखित गलत योजनालाई धरान उपमहानगरपालिकाको गरिमामय नगर सभाले गम्भीर छलफल र बहसै नगरी प्रोत्साहन गर्नु खेदजनक छ । उक्त विनियोजित बजेट धरान उपमहानगरपालिकाले ठेकेदारलाई भुक्तानी नगर्न जनता समाजवादी पार्टी माग गर्दछ । यदि हाम्रो मागको सुनुवाइ नगरिएमा हाम्रो पार्टी जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने कुरा यसै विज्ञप्त मार्फत अवगत गराउँदछौ भनिएको छ ।

Jasapa-Bigyapti 1