धरान : प्रतिनिधि सभामा विश्वासको मत लिनेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकता खोप नै भएको बताउँदै उनले भने ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप ।’
प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले प्रधानमन्त्रीमा विश्वासको लिँदै छन् ।
सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको आज पहिलो बैठक बसेको थियो । प्रधानमन्त्रीमा देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चालगायतले मत दिने बताएका छन् ।
यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूले पनि देउवालाई विश्वासको मत दिदैछन भने जसपाको ठाकुर महतो पक्षले पनि विश्वासको मत दिने घोषणा गरिसकेका छन् ।


































































