धरान : धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गीय सुवास राईको स्मृतिमा शोक सभा सम्पन्न भएको छ ।

उपमहानगरपालिकामा सोमबार सम्पन्न शोक सभामा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख एवं निमित्त कार्यकारी अधिकृत रत्न कटुवाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र खेलकुदकर्मीहरूले स्वर्गीय राईको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मेयर राईले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गीय राईको असामयिक निधनले धरानलाई ठुलो क्षति पुर्‍याएको बताए । शोक सभामा सम्बोधन गर्दै मेयर राईले राजनीतिक, सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा स्वर्गीय राईको अतुलनीय योगदान रहेको बताए । धरानको खेलकुद क्षेत्रमा स्वर्गीय राईको अभाव खड्किरहने मेयर राईको भनाई थियो ।

शोक सभामा उपमेयर, राजनीतिक दलका नेता, वडाध्यक्षहरू र खेलकुदकर्मीहरूले धरानमा स्वर्गीय राईले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । वि.सं. २०२४ साल असार ८ गते मलेसियामा जन्मिएका राईको वि.सं. २०७८ साउन २२ गते निधन भएको हो ।

स्वर्गीय राई धरान १७ नम्बर वडामा २०४९ र २०५४ सालमा वडाध्यक्षमा निर्वाचित भएका थिए भने गोधुली क्लबका संस्थापक र धरान फुटबल क्लबका पुर्वअध्यक्ष पनि भएका थिए । उनी धरान उपमहानगरपालिकाको २०७४ सालको निर्वाचनबाट निर्वाचित कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक हुन् ।