धरान : सुनसरीको इनरुवाको बसपार्कबाट कारमा सवार पाँच जनालाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी-१४ का २० वर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी-४ का २० वर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया-१४ का २४ वर्षीय विनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी-४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी-४ का २२ वर्षीय फुल कुमार मुखिया रहेका छन् ।
हिजो बेलुका ८ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो ।
ब्राउनसुगर फेला परे पश्चात् थप अनुसन्धानको लागी कार सहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।
यसैबिच मोरङको लेटाङ नगरपालिका-९ बुढौली चौकबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लेटाङ-८ का २४ वर्षीय पदम बहादुर राई रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे अस्थायी प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।