इटहरी : कोसी टप्पु वन्यजन्तु आरक्षका पीडितहरूलाई राहत उपलब्ध गराउने कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

बुधवार आरक्ष क्षेत्र आसपासका पीडितसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू बोलेको कुरा पुरा गर्ने नेता भएकोले राहत लगायत अन्य कार्यक्रम ल्याउन लागी परेको बताए ।

कोसी टप्पु वन्यजन्तु आरक्षको कार्यालय अगाडी भएको कार्यक्रममा उनले आफू अर्थमन्त्री भएको बेला वन्यजन्तुबाट मृत्यु भएका परिवारको लागि ५ लाख बाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको बताए । मानव जीवनको कुनै मूल्यमा तुलना गर्न नमिल्ने बताउँदै उनले मानवीय क्षति न्यूनीकरणको लागी सरकार लागिपरेको स्मरण गराए ।

वन्यजन्तुको आक्रमण रोक्न आफू भरपुर मेहनत गरिरहेको बताउँदै उनले तारबार र ट्रेन्चको निमार्णकार्यलाई अगाडी बढाइने जानकारी दिए । आरक्षणलाई निकुञ्जको रूपमा प्रयोग गर्न लागी परेको उनले सुनाए ।

फरक प्रसङ्गमा बोल्दै कार्कीले सरकारको प्राथमिकता कोरोना विरुद्धको खोप रहेकोले २०७८ सालभित्रमा सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने दाबी गरे । सरकार जनताको आशा र विश्वासमा कुनै पनि घात गर्न नसक्ने बताउँदै उनले अध्यादेश बाध्यताको उपज भएको प्रस्ट पारे । संसद् जीवित राख्न र सरकारलाई बलियो बनाउन अध्यादेश ल्याउनु परेको उनको भनाई छ ।

वन्यजन्तुको त्रास बढ्दै गएको भन्दै कोसी गाउँपालिका अध्यक्ष अयुव अन्सारीले पीडित परिवारलाई क्षतिपूर्ति बापत २५ लाख रुपैयाँ दिनुपर्ने बताए । घाइतेको आजीवन निःशुल्क उपचार गरिनुपर्ने र पीडित परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनको भनाई छ । जनताको जीवन अमूल्य रहेकोले सबैभन्दा उत्तम विकल्प आक्रमण हुनै नदिनेगरि व्यवस्थापन मिलाउन आग्रह गरे ।

Gyanendra-Karki-1