झापा : जङ्गली हात्तीको वासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन 'हात्ती करिडोर'मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ ।

भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्र वटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबिच वर्षौँदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडोरले सघाउने अपेक्षा गरिएको छ ।

यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताए। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए ।

सो बजेट डीपीआर निर्माण र तारबारमा खर्चिने कार्यक्रम छ । उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटबिरुवा रोप्ने योजना छ । कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो ।

अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म छ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ । यस वर्ष चारआली वन खण्डदेखि मागुरमाडीसम्मको छ किलोमिटर र मागुरमाडी वनखण्डको ५२ किलोमिटरमा तारबार निर्माण सुरु गरिने भएको हो ।

क्रमागत बजेटअनुसार वन मन्त्रालयले नयाँ तारबारका लागि रु तीन करोड विनियोजन गरेको र राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने बताइएको छ ।

elephant
फायल तस्बिर