धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा भएको तालाबन्दीको राष्ट्रिय युवासंघ नेपालले विरोध जनाएको छ । शनिवार विज्ञप्ति जारि गर्दै युवासंघले करिब ३ महिना अगाडी देखि शुद्धीकरणका नाममा पदाधिकारीका कार्यकक्षमा लगाइएको ताला नखुलेको भन्दै विरोध जनाएको हो ।
छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार प्रतिष्ठानका चारै जना पदाधिकारीले राजीनामा दिनुपर्ने सुझाव दिएको थियो । सोही प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने माग राख्दै सङ्घर्ष समितिले पदाधिकारीको बहिर्गमन हुनुपर्ने बताउँदै आएको छ । आइतबार देखी इमरजेन्सी र कोभिड बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएका आन्दोलनकारी विरुद्धमा युवासंघले विज्ञप्ति निकालेको हो ।
“कुनै पनि संस्था निकाय प्रतिष्ठान सञ्चालनको समस्या समाधान गर्न कानुन र विधि बमोजिम समाधान खोज्ने गरिन्छ । तर यो प्रतिष्ठानमा भने ३ महिना सम्म तालाबन्दी हुने एक सूत्रीय रूपमा पदाधिकारीहरूको बहिर्गमन मात्रै सबै समस्याको समाधान हो भन्ने निष्कर्षमा पुग्नु गलत भएको सङ्घको ठहर छ,” विज्ञप्तिमा भनिएको छ ।
कार्यदल बनाएर आन्दोलनरत पक्षसँग सम्झौता गर्ने र कार्यान्वयनमा नल्याउने वर्तमान सरकारको कार्यशैलीका कारण समस्या झन् जटिल बन्दै गएको युवासंघले जनाएको छ । पदाधिकारीको बहिर्गमनले निकास दिई हाल्छ भने जस्तैगरि भएका गतिविधि प्रति ध्यानाकर्षण भएको बताएको हो ।
युवासंघ धरानका अध्यक्ष भवानी दाहालद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठान धराशायी बन्नुमा अन्य थुप्रै विषयहरू पनि जोडिएको हुनाले अलग अलग अध्ययन गरी सोही अनुसार समाधान खोज्न सकिने उल्लेख गरिएको छ। लामो समयको तालाबन्दी खोली पदाधिकारी व्यवस्थापन र आन्दोलनरत पक्ष बिच समन्वय, सहकार्य गरी प्रतिष्ठानलाई अगाडी बढाउन युवासंघले आह्वान गरेको छ ।




































































