धरान : सुनसरीमा नेकपा एमालेमा दुई अध्यक्षले आ आफ्नो दाबी कायम गरिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीमा रेवतीरमण भण्डारीलाईनै अध्यक्षको जिम्मेवारी दिइएकोले निरन्तर पार्टीको काममा लाग्न निर्देशन दिएका छन् ।
सुनसरीमा दुई अध्यक्षको विषयमा आ आफ्नो दाबी पेस गरिरहेको बेलामा सोमबार नेकपा एमालेको सुनसरी जिल्ला कमिटीमा रमेशकुमार बस्नेत कि रेवती रमण भण्डारी भन्ने विषयलाई लिएर सुनसरीका नेताहरू बालकोट पुगेका थिए ।
सो क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्ष ओली र सुनसरीका नेताहरूको भेटघाटको क्रममा सो निर्देशन अध्यक्ष ओलीले दिएका हुन् ।
भेटघाटका क्रममा अध्यक्ष ओलीले सुनसरीमा भण्डारीलाई नै अध्यक्षको जिम्मेवारी दिइएकोले निरन्तर पार्टीको काममा लाग्न निर्देशन दिएको भेटघाटमा पुगेका एक नेताले जानकारी दिए ।
पार्टीमा जेठ २ गते अघिको कमिटीलाई नै निरन्तरता दिने सहमति भए पनि केही केही ठाउँमा पार्टीलाई मजबुद बनाउन जेठ २ मा फर्कने सहमति अक्षरशः कार्यान्वयन गर्न नसकिने अवस्था भएको अध्यक्ष ओलीले बताएको पनि ती नेताले बताए ।
‘जेठ २ अघिको अवस्था अक्षरशः कार्यान्वयनमा विभिन्न कठिनाइ छन्, कतिपय साथीहरू पाटी छाडेर गएका छन् । त्यहाँ अर्को कमिटी बनाउनुपर्ने छ भने कतिपय ठाउँमा सङ्कटमा साथ दिएका जुझारु नेताहरूलाई पाखा लगाउन नसकिने अवस्था छ । सोही मर्मलाई टेकेर सुनसरीमा भण्डारीलाई नै अध्यक्षको जिम्मेवारी दिइएको भेटघाटमा सहभागी नेताले बताए ।
यता जेठ २ अघि जिल्ला अध्यक्ष भएका रमेश कुमार बस्नेतलाई अन्याय नहुने गरी पार्टीको अन्य कमिटीमा उपयुक्त जिम्मेवारी दिइने समेत ओलीले भेटघाट टोलीलाई बताए ।
सुनसरीबाट केन्द्रीय सदस्य तैयव हुसैन सहित रेवतीरमण भण्डारी, मुरारी सुवेदी, मोतीराज सुनुवार, विजय राई, खेमराज पोखरेल, इन्द्र पोखरेल, परशुराम यादव, सर्वध्वज सावा, निलम खनाल, मञ्जु भण्डारी, सीता सुवेदी लगायतका नेताहरू बालकोट पुगेका थिए ।



































































