धरान : सङ्खुवासभाको मादी सामूहिक हत्याकाण्डको अनुसन्धानमा खटिएका प्रहरीले अपराधी पक्राउ नगरी घटनास्थलबाट नफर्कने बताएको छ ।

बुधवार साँझ प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी समेत घटनास्थलमा पुगेर अनुसन्धानमा खटिरहेका छन् ।

सोमबार देखि सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा घटना स्थलमा पुगेको विशेष प्रहरी टोलीसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सँगै सङ्खुवासभा प्रहरी समेत घटना स्थलमा परिचालित छन् ।

चार दिन बिती सक्दा पनि प्रहरीले कुनै क्लु नभेटे पनि प्रहरीले अपराधी पक्राउ गरेर मात्रै घटनास्थलबाट फर्किने घटनास्थलबाट एसपी भीमबहादुर दाहालले कपुरी न्युजलाई बताए ।

घटनाको विभिन्न कोणबाट अध्ययन अनुसन्धान भइरहेकोले घटनामा संलग्नलाई प्रहरीले चाडै पक्राउ गर्ने दाबी गरेको छ । मादीमा खटेका प्रहरीहरूको उपस्थितिलाई हेर्ने हो भने नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भएको छ । तर पनि अपराधी पत्ता नलाग्नुले गर्दा मादीवासी त्रसित भएको मृतकका आफन्त सुमन कार्कीले बताए ।

प्रहरी अनुसन्धान जारी रहेको र प्रहरी घटनास्थलमा सक्रिय भएर परिचालित भएकोले मादीवासीले त्यस्तो त्रसित हुनु नपर्ने मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए ।

आफू लगायत स्थानीय जनप्रतिनिधिहरू समेत प्रहरी अनुसन्धानलाई सघाइरहेकोले चाडै अपराधी पत्ता लगाई प्रहरीले दोषीलाई कारबाहीको दायरामा ल्याउने मेयर लिङ्थेपको भनाई छ ।

मृतकहरुको किरियामा ५ जना बसे
सोमबार सामूहिक हत्या गरिएका सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोलागाउका तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

६ जनाको बुधवार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिए पछि साही दिन इटहरीको बुढी खोलामा सामूहिक दाहसंस्कार गरिएको थियो ।

दुवाईबाट मृतकका कान्छो छोरा नरेश कार्की आइपुगेपछि सामूहिक दाहसंस्कार गरेर बिहीबार गाउँ पुगेपछि नरेश सहित ५ जना किरियामा बसेको बताइएको छ ।