धरान : सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई आज प्रहरीले सार्वजनिक गर्दैछ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी-१ उमलिङ खोला गाउँकै २५ वर्षीय लोकबहादुर कार्कीलाई शुक्रवार पक्राउ गरेको थियो । हत्यामा संलग्न देखिएका लोकबहादुरलाई अहिले १० बजे इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले जानकारी दिए।
पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीका डिएसपी रुगम कुँवर समेतको उपस्थित हुने बताइएको छ ।
सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान शव फेला परेको थियो। ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
नाताले मृतक तेजबहादुरका बडाबाका नाति भतिज पर्ने लोकबहादुर कार्कीले ६ जनाकै हत्या आफूले गरेको स्वीकारेका छन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































