आज कन्या सङ्क्रान्ति अर्थात् विश्वकर्मा पूजा । आज देशभर उद्योग कलकारखानाका मेसिन फलाम, गाडी एवम् धातु बाट निर्मित सम्पूर्ण वस्तुहरूको पूजा गरिँदै मनाईदैछ ।
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने जो कोहिले आजको दिन श्रद्धाभक्ति पूर्वक विश्वकर्मा बाबाको पूजाआजा गरी मनाउने गर्दछन् । महाभारतका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रका बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी , त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मान्ने गरिन्छ त्यसैले आजको दिनलाई वास्तु दिवस भन्ने गरिन्छ।
ब्रह्मा पुत्र विश्वकर्माले लङ्कालगायत दैवीकालका सबै संरचनाको निर्माण गरेको प्रमाण रामायण, महाभारत लगायत विभिन्न वैदिक धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
देवता शिल्पकारको रूपमा मान्यता पाएका विश्वकर्माको पूजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुको बढोत्तरी हुने जनविश्वास छ।
विश्वकर्मा पूजाकालागि आज बिहानै देखि धरानको तीनकुने स्थित विश्वकर्मा मन्दिरमा भक्तजनहरूको घुइँचो लागिरहेको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































