इटहरी : कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाटै पास हुने बताएका छन् ।

शुक्रवार आफ्नै निर्वाचन क्षेत्रमा पुगेर कार्कीले एमसीसी कुनै हालतमा कार्यान्वयन हुने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रको समुद्घाटन कार्यक्रममा बोल्दै उनले मुलुकलाई विकाश चाहिएकोले विदेशी अनुदान लिएर काम गर्नुपर्ने धारणा राखे ।

यति ठुलो अनुदान रकम पहिलो पटक आएको स्मरण गराउँदै मन्त्री कार्कीले परियोजनामा राजनीतिकरण भएको आरोप लगाए ।

पछिल्लो समय प्रतिपक्षी दल नेकपा एमालेको कारण बजेट कार्यनयनमा चुनौती थपिएको उनको भनाई छ । बारम्बार संसद् अवरुद्ध गर्ने एमालेको रणनीतिको कारण सरकारले काम गर्न नसकेको कार्कीले प्रस्ट पारे ।

संसद् बैठक सुरु हुनु पूर्व आफैले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सँग भेटेर वार्ता गरेको तर वहाँहरूले सकारात्मक प्रतिक्रिया नदिएको कार्कीले जानकारी दिए । केही दिन अगाडी मात्र पुनः ओलीसँग कुरा भएकाले असोज ४ गतेको संसद् बैठकबाट बजेट पारित हुने उनको विश्वास छ ।

फरक प्रसङ्गमा बोल्दै कार्कीले वन्यजन्तु संरक्षणको लागी सबैले अभियान चाल्नुपर्ने बताए । मानव र वन्यजन्तु बिचको द्धन्द व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै उनले वन्यजन्तु नियन्त्रणको लागी आफू प्रयासरत भएको बताए ।

समस्यालाई विकरालको रूपमा प्रस्तुत गरेर उत्तेजना सृजना गर्नेभन्दा पनि समाधानको उपाय अपनाउनुपर्ने उनको जोड छ । “२०३२ सालमा स्थापना भएको कोसी टप्पु त्यसयता समस्याको रूपमा परिणत भएको छ ।,”

उनले भने, “मैले पर्यटकीय क्षेत्रको विकाशको लागी काम गरेर स्थानीयको आर्थिक उपार्जनमा टेवा पुग्ने कामको थालनी गरेको छु । यो आरक्षलाई निकुञ्जमा परिणत गर्नको लागी मेरो पुरा सामर्थ्य लगाउँछु । त्यसपछि धेरै समस्या हल भएर जान्छ ।”